काठमाडौं, ३१ भदौ । हाल भारतमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमण टोलीमा प्रधानमन्त्रीपत्नी सीता दाहाल पनि सम्मिलित छन् । मुलुकको कार्यकारी प्रमुखको पत्नीलाई ‘फर्स्ट लेडी’ अर्थात प्रथम महिला भन्ने पश्चिमा चलन छ ।
प्रथम महिला आफ्नो पतिको हरेक भ्रमण तथा कार्यक्रममा पत्नीको हैसियतमा सँगै रहन सक्छिन् । यसैक्रममा शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गर्ने क्रममा लिइएको एक तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
यो तस्बिर नियाल्ने हो भने प्रधानमन्त्रीपत्नी दाहालले धेरै कुरा ख्याल नगरेको प्रष्टै देखिन्छ । पहिलो कुरा त उनी आफ्ना पतिसँगै उभिनुपर्नेमा अर्को देशका प्रधानमन्त्रीसँग जोडिएर उभिएकी छन् ।
अर्कोतर्फ मोदी र प्रचण्ड दुबैले हँसिलो अनुहार बनाएर कसिलोसँग हात मिलाएका छन्, तर प्रधानमन्त्रीपत्नीको अनुहारमा भने कत्ति पनि मुस्कान देखिँदैन । साथै क्यामेरातर्फ उनको ध्यानसमेत गएको छैन । त्यसमाथि पनि उनी हात बाँधेर उभिएकी छन् ।
यसमा उनले आफ्नो मर्यादा र हैसियत अनुसारको व्यवहार देखाउन नसकेको पक्कै हो । सामान्य मर्यादाकोसमेत ख्याल नराख्दा उनीबाट कमजोरी भएको कुरा कसैबाट लुकेको छैन ।
तर, यही तस्बिरलाई शेयर गरेर सामाजिक सञ्जालमा गरिएका कतिपय टिप्पणीहरुले भने हामी सबैलाई कुरी-कुरी! गरिरहेको छ । जे सुकै भएपनि उनी हाम्रो देशको प्रथम महिला हुन् । यहाँ मजाक उडाउँदा सीता दाहालको मात्रै बेइज्यत हुँदैन, मुलुककै बेइज्यत हुन्छ ।
सामाजिक सञ्जालमा गरिएका केही टिप्पणीहरु त यतिसम्मका छन् कि जुन यहाँ उद्धृत गर्नसमेत सकिने खालको छैनन् । अत्यन्तै तल्लोस्तरका शब्दहरुको प्रयोग गरेर गरिएका तुच्छ टिप्पणीले आफैँलाई गिज्याइरहेको तर्फ हामीले ख्याल गर्न सकेका छैनौँ ।
यो पनि हेर्नुस् !
यो अमेरिकी राष्ट्रपति बाराक ओबामा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटको तस्बिर हो । यहाँ अमेरिकी फर्स्ट लेडीअर्थात राष्ट्रपतिपत्नी मिसेल ओबामा आफ्नो पतितर्फ नभएर भारतीय प्रधानमन्त्री मोदीसँग उभिएकी छन् ।
फेरि यो तस्बिर यहाँ उद्धृत गरेर सीता दाहालले सही गरिन् भनेर पुष्टि गर्न खोजिएको होइन । तर, संयोगले यस्तो पनि हुनसक्छ भन्ने देखाउन मात्रै खोजिएको हो ।
अर्को भुल्नु नहुने कुरा के हो भने, यो तस्बिरले न त अमेरिकी मिडियाहरुमा आक्रामक उपस्थिति जनायो न त त्यहाँका नागरिकहरुले फेसबुकमा शेयर गरेर आफ्नै देशको बेइज्यत गरे । तर, हामी भने आफैँलाई तल पार्ने काम गरिरहेका छौँ ।
यो तस्बिरमा पनि अमेरिकी फर्स्ट लेडी मिसेल ओबामा भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग उभिएकी छन् ।
सुरुमा पोजिसनमै थिइन् सीता
खासमा मोदीसँगको भेटमा सुरुमा सीता म्याडम आफ्नै पोजिसनमा थिइन् । तर जब फोटो सेसनको समय भयो, तब क्यामेराको एङ्गल आफूतर्फ परेपछि पति प्रचण्डलाई नछेकियोस् भनेर अल्मलिँदै उनी मोदीको पासमा पुगिन् । पहिलो तस्बिरमा पनि सीता मेडमको अनुहारमा मुस्कान भने पटक्कै देखिएको छैन । उता मोदीले भने मुस्कुराएर नमस्कार गरेका छन् ।







