शनिबार दमकको रेडक्रसको खुल्ला मैदानमा आयोजित विरोध सभामा बोल्दै आन्दोलत दलका नेताहरुले आफना जायज माग सम्बोधन नभएसम्म एकमहिना देखि जारी आन्दोलन नरोकिने जनाउदै थप आन्दोलन सञ्चालन गर्नुपर्ने खाँचो रहेको जोड दिए । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र साथै नयाँ शक्ति नेपाल लगायतका दलहरुको संयुक्त आन्दोलन समितिले दमकमा बृहत आमसभाको आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै आन्दोलन निर्देशन समितिका संयोजक सुरेश सुब्बाले जनताहरुको आन्दोलनका सामु कुनै तानाशाह समेत नटिकेको उदाहरण दिदै जिल्ला नेतृत्व सच्चिन आवश्यक भएको सुझाए ।
उनले भने,–‘ यस क्षेत्रका नागरिकको मागमा जिल्ला नेतृत्वले सकारात्मक नभए जनताले आफ्नो तागत देखाउने दिन आएको छ । ’
कार्यक्रममा आन्दोलन परिचालन समितिका संयोजक रेवतराज पुरी गगनले आफूहरुको मागमा जिल्ला नेतृत्व सकारात्मक नभए सबै दलका जिल्ला नेताहरुलाई क्षेत्र नम्बर ७ प्रवेशमा नै रोक लगाउने चेतावनी दिए ।
आफूहरु कुनैपनि मूल्य चुकाएर दमकलाई उप–महानगरपालिका बनाई छाड्ने उनले प्रतिबद्धता गरेका थिए ।
कार्यक्रमा बोल्दै दमक नगरपालिकाका पूर्व मेयर रोमनाथ ओलीले जनता कसैको पेवा नहुने हुँदा जनताको मागमा चल्न नसक्ने राजनीतिक दलहरु आपैंm पाखा लाग्ने औल्याए ।
दमकसंग लखनपुर, धरमपुर र तोपगाछीको राजनीतिक, भौगोलिक र आर्थिक रुपमा एकता भएको चर्चा गदै ओलीले आफूहरुले दमकलाई उप–महानगरपालिका बनाउन माग गरि आन्दोलित हुनुपरेको बताए ।
कार्यक्रममा माओवादी केन्द्र लखनपुरका याम पाठक, नयाँशक्ति नेपालका योगेश उप्रेती, एमाले धरमपुरका राधाकृष्ण खनाल, नेपाली कांग्रेस तोपगाछीका राजन ढुंगाना, महिला नेतृ सुमित्रा वाङदेल चेली लगायतले दमकलाई उप–महानगरपालिका नबनाएसम्म आन्दोलन रोक्न नहुनेमा नेतृत्वलाई सचेत गराउदै आन्दोलन जारी राख्नुपर्ने जोड दिएका थिए ।
संयुक्त संघर्ष समितिले आयोजना गरेको विरोध सभाको अध्यक्षता एमाले दमक अध्यक्ष बोधप्रसाद घिमिरेमा भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य नेपाली कांग्रेस दमक सभापति रोशन विष्टले गरेका थिए ।
दमक संगै , लखनपुर, तोपगाछी र धरमपुर गाविस मिलाएर दमकलाई उप–महानगरपालिका बनाउनु पर्ने माग गर्दै यहाँका क्षेत्रीय नेतृत्वहरुले विभिन्न किसिमका आन्दोलन सञ्चालन गरिआएका छन् ।
जिल्लास्थित स्थानीय पुर्नसंरचना प्राविधिक समितिले निर्वाचन क्षेत्र विपरीत स्थानीय तह टुक्रयाएको विरोध जनाउदै जारी आन्दोलन शसक्त बनाउदै आएका छन् ।
यसवीचमा आन्दोलनका नेतृत्वहरुले कांग्रेस,एमाले ,माओवादी केन्द्र लगायतका राजनीतिक दलका जिल्ला नेतृत्व ,केन्द्रीय नेतृत्व सहित पूर्नसंरचना प्राविधिक आयोगसमक्ष निर्वाचन क्षेत्रलाई गाभेर दमकलाई उपमहागरपालिक बनाउन माग गरि आन्दोलित छन् ।