फागुन १४ । हृदयघातका कारण भारतीय चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको भनिएकोमा दुबईबाट जारी गरिएको फोरेन्सिक रिपोर्टमा बाथटबमा डुबेर उनको मृत्यु भएको खबर आएको छ । फोरेन्सिक रिपोर्टका अनुसार बाथटबमा डुबेर उनको मृत्यु भएको हो ।
दुबईमा बिबाह समारोहमा सहभागी हुनेक्रममा शनिबार उनको निधन भएको थियो । ५४ बर्षीय श्रीदेवीको निधन कार्डियक अरेस्टबाट भएको भनिएकोमा दुबईका फोरेन्सिक डाक्टरहरुले जाँचमा बाथमा डुब्नाले हृदयघात भएको खुलासा गरेका छन् । दुबईका अधिकारीहरुले उक्त कुराको पुष्टि गरेका छन् ।
खलीज टाइम्सका अनुसार श्रीदेवीको शव अब छिट्टै नै उनको परिवारजनलाई सुम्पिने भएको छ । बेलुकासम्म उनको शव मुम्बईमा ल्याईसक्ने बताइएको छ ।
श्रीदेवीले मिस्टर इण्डिया, चाँदनी, चालबाज र सदमा जस्ता व्यावसायिक रूपमा निकै सफलसहितका डेढ सयभन्दा बढी भारतीय चलचित्रमा अभिनय गरेकी थिइन्। पुरूष कलाकारको सहयोग विनै सफल चलचित्र दिने थोरै अभिनेत्रीहरूमा श्रीदेवीको नाम आउँछ। उनको जन्म सन् १९६३ को अगष्ट १३ मा भारतको तमिलनाडुमा भएको थियो।
बालकलाकारको रूपमा उनले चार वर्षको उमेरमा एउटा तमिल चलचित्रबाट काम शुरू गरेकी थिइन्। बालकलाकारकै रूपमा उनले तेलुगु र मलयालम चलचित्रहरूमा पनि अभिनय गरेकी थिइन्। दक्षिण भारतीय चलचित्रहरूमा काम गरेपछि श्रीदेवीले सन् १९७९ मा मुख्य कलाकारका रूपमा बलीउड चलचित्र ‘सोलहवा साल’ बाट अभिनय शुरू गरिन्। सन् १९८० को दशकलाई अभिनेत्रीहरूको दृष्टिकोणले बलीउडलाई श्रीदेवीको दशकको रूपमा व्याख्या गर्ने गरिन्थ्यो।
उनलाई ‘लेडी अमिताभ बच्चन’ पनि भन्ने गरिन्थ्यो। सन् १९९७ मा जुदाई नामक चलचित्रमा अभिनय गरेपछि १५ वर्षसम्म उनी चलचित्रमा देखिइनन्। सन् २०१२ मा उनले इंग्लिश-विंग्लिश नामक चलचित्रमा अभिनय गरिन्। जुन व्यावसायिक रूपमा निकै सफल रह्यो। सन् २०१७ मा मम नामक उनको चलचित्र आएको थियो।



