सिड्नी । अष्ट्रेलिया सरकारले नेपाली विद्यार्थीको भिजामा केही कडाई गर्ने भएको छ । अस्ट्रेलियाले विद्यार्थी भित्र्याउने देशहरुको एसेस्मेण्ट लेभल हेरफेर गरेको छ । गत शुक्रबार भएको हेरफेर अनुसार अष्ट्रेलियामा विद्यार्थी भित्र्याउने देशहरुमध्ये नेपाल एक स्थान तल झरेको छ । भिजा रिस्क, विद्यार्थी भिजा सक्सेस रेट, डकुमेण्टेसन लगायतका विभिन्न पक्षलाई आधार मानेर गरिने एसेस्मेण्ट लेभल निर्धारणमा नेपाल एक स्थान तल परेको हो । यसअघि नेपाल लेभल २ मा रहेको थियो ।
यो सँगै अष्ट्रेलिया आउन चाहाने नेपाली विद्यार्थीको भिजामा केही कडाई हुने अनुमान गरिएको छ । तर केहीले भने विद्यार्थी भिजाको आवेदन दिंदा आवश्यक पर्ने सामान्य आवश्यक्ता मात्र हेरफेर भएकाले भिजामा समस्या नहुने तर्क गर्छन् ।
नेपाल एसेस्मेण्ट लेभलमा एक तह घटुवा हुँदा अबदेखी विश्वविद्यालय तथा कलेजहरुमा अध्ययन स्विकृतिका लागि आवेदन दिंदा आर्थिक स्रोतका काजगात अनिवार्य बुझाउनुपर्ने हुन्छ । यसअघि नेपाल एसेस्मण्ट लेभल २ मा रहेका बेला एसेस्मेण्ट लेभल २ मै रहेका कलेज तथा विश्वविद्यालयहरुमा अध्ययनका लागि आवेदन दिंदा आर्थिक स्रोत नियमत देखाउनु पर्दैनथ्यो भने भिजा आवेदन दिंदा दिल्लीस्थित अस्ट्रेलियन हाई कमिसनमा पनि आर्थिक स्रोत नदेखाउँदा हुन्थ्यो ।
एसेस्मेण्ट लेभल एक तह घटुवा हुँदा अब अधिकांश विश्वविद्यालयहरुले विद्यार्थीहरुसँग भरपर्दो आर्थिक स्रोतको प्रमाण माग गर्छन् भने भिजा आवेदन दिंदा सोही अनुसारले भारतस्थित अस्ट्रेलियन हाईकमिसनसम्म आर्थिक स्रोतका कागजातहरु बुझाउनुपर्ने हुन्छ ।
अष्ट्रेलियामा रहेको शैक्षिक सेवा प्रदायक रेसिडेन्सि गाईडका हेम राज भट्टले भने एसेस्मेण्ट लेभल हेरफेर हुँदैमा विद्यार्थीको भिजामा कडाई भइहाल्ने अवस्था नरहने बताए । भट्टले भने, ‘एसेस्मेण्ट लेभलमा एक तह घटुवा भएसँगै विद्यार्थीले आवश्यक कागजपत्र त्यसमा पनि अस्ट्रेलियामा पढ्न आफुसँग बलियो आर्थिक स्रोत रहेको प्रमाण स्पष्टसँग उल्लेख गर्नुपर्दछ । आफुलाई स्पोन्सर गर्ने परिवारको आम्दानीको स्रोत, बैंक लोन तथा डिपोजिटका विषयमा केही चनाखो हुनुपर्छ ।’
अष्ट्रेलिया सरकारले सक्रिय विद्यार्थी भिजा, भिजा सफलता दर लगायतका विषयका आधारमा समय समयमा एसेस्मेण्ट लेभल हेरफेर गर्ने गर्दछ ।










