प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई सम्वृद्ध बनाउने आफ्ना एजेण्डाबाट प्रतिपक्षी दल आत्तिएको आरोप लगाएका छन् ।
एमाले पार्टी कार्यालय धुम्बाराहीमा सोमबार आयोजित मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले गरिबलाई धनी बनाउने, भोकालाई खान दिने आफ्ना एजेण्डाबाट प्रतिपक्षी दल आत्तिएको बताएका हुन् । उनले समुचित विकास, न्यायोचित वितरण प्रणाली, सामाजिक न्याय र सबैका लागि समानताको कुराले कसैलाई बाधा नपुग्ने भन्दै नआत्तिन आग्रह समेत गरेका छन् ।
प्रधानमन्त्री ओलीले अब मुलुकमा राजनीतिक संक्रमण टुंगिसकेकाले गरिबीबाट सम्वृद्धि तर्फको यात्रा सुरु भएको समेत उल्लेख गरे । उनले छिमेकी मुलुकसंग सुमधुर, सन्तुलित, विश्वसनीय र पारस्परिक सहयोगी सम्बन्धका आधारमा द्धिपक्षीय सम्बन्ध स्थापति गरिने बताए ।
स्वदेशी पूँजी लगानी गरि बाह्य लगानी आर्कषित गर्दै स्वदेशमै रोजगारीको श्रृजना गरि युवाहरुलाई विदेशीनबाट रोकिने पनि उनले दावी गरे । कार्यक्रममा वरिष्ठ पत्रकार कमल कोइरालालाई मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।
केन्द्र बिन्दु बाट








