
दमक/ इलामको बाँझोमा किरात धर्मगुरु आत्मानन्द लिङदेनको नाममा सामुदायिक क्याम्पस स्थापना गरिने भएको छ । सोमबार बाँझो–९ स्थित भालुटारमा आयोजित शिक्षासेवीसहितको भेलाले लिङ्देन आत्मानन्द सेइङ बहुमुखी क्याम्पस स्थापना गर्ने निर्णय गरिएको छ । भेलाले क्याम्पस सञ्चालनका लागि केयरसिंह योङहाङको अध्यक्षतामा २६ सदस्यीय सञ्चालक समिति समेत गठन गरिएको छ ।
भेलाले प्रस्ताबित क्याम्पसको सहायक प्रमुखको जिम्मेवारी पाएका आङवुहाङ अबोध अबिरलले उच्च शिक्षा अध्ययनका लागि किरात धर्मगुरुको नाममा क्याम्पस सञ्चालन गर्न आवश्यक तयारी थालिएको बताएका छन् । त्यस क्षेत्रका विद्यार्थीहरु उच्च शिक्षा अध्ययन गर्न दमक तथा इलाम, पाँचथरको फिदीम गएर पढ्नु पर्ने समस्या झेलिआएका छन् । प्रस्तावित क्याम्पसका सहायक आङवुहाङले गाँउ घरमा उच्च शिक्षाका लागि गुणस्तरिय पठ्नपाठ्न सञ्चालन गर्न माङसेवुङका बासिन्दाहरुले क्याम्पस सञ्चालन गर्न तयारी गरिएको बताउछन् । उनले भने,–‘ माङसेवुङमा नै क्याम्पस सञ्चालन भएपछि यस क्षेत्रका विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि अन्यत्र गएर धाउनु पर्ने समस्या हट्ने छ ।’ प्रस्तावित क्याम्पसमा मानविकी,व्यवस्थापन र शिक्षा संकायको पठनपाठन सञ्चालन गरिने आङबुहाङले बताएकाछन् ।



