जापान । आमा बन्न पाउनु कुनै पनि महिलाका लागि खुशीको कुरा हो । विवाह पश्चात गर्भवती भएर आमा बन्न पाउँदा महिलामा एक प्रकारको खुशी महसुस हुन्छ । तर जापानमा एक बिवाहित महिलाले आफू गर्भवती भएकै कारण लज्जित हुनुपरेको छ । यस पछाडिको कारण अत्यन्तै आश्चर्यजनक छ जुन पढ्दा तपाईंलाई पनि आश्चर्य लाग्ने छ ।
जापानमा एउटी महिला आफ्नो ‘पालो’ आउनु भन्दा पहिल्यै गर्भवती हुन पुगिन् जसका कारण उनका मालिकले उनलाई हप्काए । यति मात्रै नभई मालिकले दैनिक उनलाई गिज्याउन थाले । मालिकले गाली गर्दै उनलाई भने ‘तिमी यस्तो स्वार्थी कसरी बन्न सक्छौ जसका लागि कम्पनीको नियम नै तोडिदियौ ।’ स्थानीय पत्रिकालाई जानकारी गराउँदै यी महिलाका श्रीमानले यो घट्ना सार्बजनिक गरेका हुन् ।
उनले भने ‘मेरी श्रीमती चाइल्ड केयर सेन्टरमा काम गर्छिन् । भर्खरै उनी गर्भवती भएकी छन् तर यसका कारण उनलाई उनको मालिकले दैनिक हैरान पार्ने गरेका छन् । यो कम्पनीको नियमअनुसार कुनै पनि महिला कर्मचारीले बिवाह गर्नु परेमा वा गर्भवती हुनका लागि आफ्ना मालिकको अनुमति लिनुपर्छ । अनि यसमा पनि मुख्य कुरा के हो भने जुनियर स्टाफले सिनियर स्टाफ भन्दा पहिले बिवाह वा गर्भवती हुन पाइँदैन ।
यो घटना सँगै यो कम्पनीले महिला कर्मचारीलाई बिवाह वा प्रेगनेन्सीका बारेमा समयतालिका पठाएको छ । टोक्योस्थित मिताका कस्मेटिक कम्पनीमा काम गर्ने २६ वर्षीय युवती भन्छिन् ‘म लगायत २२ अन्य महिला कर्मचारीहरुलाई कम्पनीले एक ईमेल पठाए । यसमा बिवाह तथा प्रिगनेन्सीलाई लिएर तालिका बनाइएको थियो । यसमा सबैलाई उमेरको हिसाबले कहिले कसले बिवाह गर्ने र प्रेगनेन्ट हुने भन्ने कुरा उल्लेख छ ।’



