‘मोदीसँग दिल खोलेर कुरा भयो, उत्साहित छु’
नयाँदिल्ली: प्रधानमन्त्री पुष्पकमल दाहालले उत्तरी छिमेकी चीनसँगको सम्बन्धमा कुनै असमझदारी नरहेको बताएका छन् ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले नयाँदिल्लीमा पत्रकारहरूसँग शनिबार भने, ‘हाम्रो चीनसँगको सम्बन्धमा कुनै तलमाथि भएको छैन ।’ चीनसँगको सम्बन्ध किन बिग्रेको हो भन्ने भारतीय पत्रकारको प्रश्नमा दाहालले यस्तो बताएका हुन् ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको अक्टोबरमा प्रस्तावित नेपाल भ्रमण स्थगित भएको सम्बन्धमा एक पत्रकारले सोधेको प्रश्नमा दाहालले भने, ‘चीनबाट उच्चस्तरीय भ्रमण तय हुन सकिरहेको छैन । पहिले पनि भ्रमण हुने निर्णय भएको थिएन । हामी चीनबाट उच्चस्तरीय भ्रमणका लागि तयार छौं । हामीलाई विश्वास छ चीनबाट चाँडै उच्चस्तरीय भ्रमण हुनेछ ।’ उनले छिमेकी मुलुकहरू भारत र चीनसँगको सम्बन्धलाई सरकारले प्राथमिकतामा राखेको बताए ।
दाहालले आफ्नो भ्रमणबाट भारतसँगको सम्बन्ध नयाँ धरातलमा विकसित भएको दाबी गरेका छन् । ‘प्रधानमन्त्री मोदीजीसँग यसपटक खुलेर दिलबाट कुरा भएको छ । विश्वासको आधार बनेको छ । उहाँ नेपालप्रति अत्यन्तै सकारात्मक हुनुहुन्छ’, नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा शनिबार दाहालले भने, ‘मेरो भ्रमणले नेपाल र भारतबीचको सम्बन्ध नयाँ धरातलमा उठाउन आधार तयार गरेको छ ।’
भारतले अझै पनि नेपालको नयाँ संविधानको पूर्ण स्वागत गरेन नि भन्ने प्रश्नमा दाहालले स्पष्ट जबाफ दिन सकेनन् । उनले भने, ‘संविधान हाम्रो आन्तरिक विषय हो । हिजै जारी भएको नेपाल–भारत संयुक्त वक्तव्य हेर्दा स्पस्ट थाहा हुन्छ, उहाँहरूले हाम्रो संविधानलाई कसरी लिनुभएको छ । यसलाई कसैले बंग्याएर व्याख्या गर्नु उचित हुँदैन । भाषा आफैं प्रस्ट छ ।’
‘हामी चीनबाट उच्चस्तरीय भ्रमणका लागि तयार छौं । हामीलाई विश्वास छ चीनबाट चाँडै उच्चस्तरीय भ्रमण हुनेछ ।’



