एजेन्सी, अमेरिकाको क्यालिफोर्नियाका सेन्टजोसेफ स्पेश २ समिट कार्यक्रममा अन्तरिक्षमा पहिलो लक्जरी होटल निर्माण गरिने र त्यसको नाम अरोरा स्टेशन राखिने भएको छ ।
अमेरिकी उद्यमीले यस्तो योजना सार्वजनिक गरेका हुन् । हस्टनमा रहेको ओरियन स्पानले यसको तयारी गर्दैछ । १२ दिने यस यात्रामा एक पटकमा चारजना र दुईजना क्रु मेम्बरसहित ६ जना लैजाने योजना छ ।
यो लक्जरी होटल सन् २०२२ सम्म तयार हुने बताइएको छ । अन्तरिक्षमा १२ दिनसम्म बस्नका लागि अन्तरिक्ष पर्यटकले ९.५ मिलियन डलर अर्थात् करीब एक अर्ब नेपाली रुपैयाँ शुल्क लाग्नेछ । तीन महिने तालिम लिए/दिएपछि चार जना यात्रुलाई पठाइनेछ ।
यो होटल अन्तरिक्ष यात्रीका लागि एकदमै सुविधाजनक सावित हुनेछ । होटलले हरेक ९० मिनेटमा अन्तरिक्षबाट पृथ्वीको परिक्रमा गर्नेछ, अर्थात् २४ घण्टामा १६ पटक सूर्याेदय र सूर्यास्त देख्नेछ ।
गेस्टहरूले अन्तरिक्षमा अनुसन्धानमा पनि भाग लिन सक्छन् । यसमा बस्ने यात्रीले तीव्र गतिको इन्टरनेट पहुँचद्वारा लाइभ भिडियो च्याट पनि गर्नसक्ने व्यवस्था मिलाइने बताइएको छ ।



