काठमाडौं– उद्योग मन्त्रालयको समन्वयमा चिनी उद्योगी र उखु कृषकबीच उखुको खरिब–बिक्री मूल्य निर्धारण भएको छ। उद्योग मन्त्रालयमा सामबार तेस्रो पटक भएको वार्ताबाट प्रतिक्विन्टल उखुको मूल्य ५३१ रुपैयाँ निर्धारण गरेको हो।
यसअघि उद्योगमन्त्रालयमा २ पटक र अन्य स्थानमा ४ पटक गरी ६ पटकसम्म भएको वार्ता उखुको मूल्य निर्धारणमा असफल भएका थिए।
उखु उत्पादक कृषकले प्रतिक्विन्टल ५५६ रुपैयाँ पाउनु पर्ने र उद्योगीले प्रतिक्विन्टल ५१३ रुपैयाँ मात्र दिन सक्ने अडान राखेपछि उखुको मूल्य निर्धारण हुन सकेको थिए। क्रसिङ सिजन सुरु भइसकेको र चिनी उद्योग सञ्चालन गर्नुपर्ने बेला भइसकेपछि मूल्य निर्धारण नभई उखु नबेच्ने किसानको अडानपछि चिनी उद्योगहरु सञ्चालनमा आउन सकेका थिएनन्।
उद्योग मन्त्रालयमा उद्योगमन्त्री नविन्द्रराज जोशी, उद्योग सचिव, कृषि सचिवलगायतको रोहबरमा वसेको बैठकले उद्योगीले भनेको र कृषकले माग गरेको मूल्यको बीचको मूल्य ५३१ रुपैयाँ तोकेपछि दुबै पक्षले उक्त मूल्यमा सहमति जनाएको उखु उत्पादक संघ नेपालका अध्यक्ष कपिलमुनि मैनालीले बताए।



