आश्विन २, २०७३- एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा गएर प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको शिर झुक्ने गरी राष्ट्र र जनताको हित विपरित २५ बुँदे सयुक्त बक्तब्य जारी गरेको आरोप लगाएका छन् । शुक्रबार राति प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले २५ बुँदे संयुक्त बक्तव्य जारी गरेको थियो ।
एमालेले उक्त बिज्ञप्तिको विरोध गर्ने बताउँदै दाहाल भारतसँग झुकेर घुँडा टेकेर फर्केको दावी गरे । ‘नेपालको शिर झुक्यो,’ एमाले प्रदेश नम्बर ४ को भेलालाई आइतवार पोखरामा उद्घाटन गर्दै उनले भने, ‘दाहालले भारत भ्रमणमा जे–जे गर्नुभयो त्यो एउटा पनि राम्रो काम गर्नुभएन । मुलुकको हितको पक्षमा छैन् ।’ प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धी विहीन भएको पनि उनले दावी गरे ।भारतले गत वर्ष संविधानलाई ठूलो उपलब्धी भन्यो तर, अहिले ठीक छैन संशोधन गर्नुपर्छ भन्नुले शंका पैदा गरेको उनको तर्क थियो । सविधान संशोधन गर्नुपर्छ भनेर भारतले बोल्नु ठीक नभएको उनले बताए । ‘अरुको इशारा अनुसार नचल्दा मेरो नेतृत्वको सरकार ढल्न पुग्यो,’ ओलीले भने, ‘संविधान जारी नगराउन ठुलै षडयन्त्र भएको थियो । सबैलाई घिसारेर, तानेर ल्याएर चलाखीपूर्ण तरिकाले संविधान जारी गर्न सफल भयौं । अब संविधान संशोधनको नाममा संविधानलाई कार्यन्यवन गर्न नदिने र नेपालमा अस्थिरता काम गर्न फेरी ठुलै चलखेल भएको छ ।’
भारतले प्रधानमन्त्री दाहाललाई संविधान संशोधन गर्न भन्नु नेपालको संविधान विपरित भएको उनले तर्क थियो । अहिले संविधान संशोधन भन्दा देशमा तीनै तहको चुनाव गराउनु मुख्य आवश्यक्ता रहेको ओलीले बताए । एमाले महासचिव इश्वर पोखरेलले चुनाव नगराएर संविधानलाई तुहाउन सरकारले षडयन्त्र गर्न लागेको आरोप लगए । उनले संविधान संशोधन कुनै हालतमा पनि हुन नसक्ने ठोकुवा गरे ।
स्रोत :- इ कान्तिपुर









