एजेन्सी। महिलाहरुलाई कुनै कारणवश घर फर्किन राती भयो भने उनीहरु ट्याक्सीमा घर फर्किने गर्छन् । तर, अब महिलाहरुले यसरी ट्याक्सी लिँदा पुरुष ड्राइभर भएको ट्याक्सीमा चढ्न नपाउने गजबको नियम छिमेकी देश चीनको राजधानी बेइजिङमा लागू गरिएको छ । यो नियम रातको समयमा मात्र लागू हुनेछ ।
यहाँ राती १० बजेपछि बिहान ६ बजेसम्म कुनै पनि पुरुष ट्याक्सी ड्राइभरले महिला यात्रुलाई चढाउन पाउने छैनन् । ट्याक्सीमा महिलाको बलात्कारका दुई भटना भएपछि यहाँ यस्तो नियम लागू गरिएको हो । यो नियमका कारण महिलालाई कुनै किसिमको समस्या नहोस् भन्नका लागि महिला ट्याक्सी ड्राइभर तैनाथ गरिएको छ ।
चीनमा हालै एक २१ वर्षीया फ्लाइट एटेन्डेन्टको ट्याक्सीमा बलात्कारपछि हत्या गरिएको थियो भने दोस्रो केसमा एक महिला बेइजिङबाट बाहिर गाउँमा ट्याक्सीमा जाँदै गर्दा ट्याक्सीमै बलात्कृत भएकी थिइन् । यी दुई घटनापछि पनि सरकारले कुनै विशेष कदम उठाएको थिएन । तर, लगत्तै अर्को घटनामा एक २२ वर्षीया युवतीमाथि बलात्कारको प्रयास भयो । भाग्यवश ती युवती जोगिएर भाग्न सफल भइन् । त्यसलगत्तै सरकारले यस्तो नियम ल्याएको हो ।



