परिवारको कोही एकाएक बेपत्ता भयो भने हामी सहयोग माग्न प्रहरीमा जान्छौं । प्रहरीले पनि बेपत्ता व्यक्तिलाई खोज्न हरसम्भव प्रयास गर्छन् र हामीलाई सहयोग गर्छन् । तर, यदि श्रीमती हराएपछि खोजिदिन गुहार माग्दै गएका श्रीमानलाई नै प्रहरीले पक्राउ गर्यो भने ? भारतको मध्यप्रदेशको भोपाल शहरमा यस्तै भएको छ । श्रीमती हराएको रिपोर्ट लेखाउन गएका श्रीमानलाई नै प्रहरीले पक्राउ गरेको छ ।
हराएकी भनिएकी ती महिला आफ्ना श्रीमानसँग हनिमुन मनाउन शिमला गएको बताइएको छ । उनी हनिमुनकै क्रममा शिमलाबाटै भागेकी थिइन् । पत्नी हराएपछि पतिले त्यहाँको स्थानीय थानामा रिपोर्ट लेखाउन गए । प्रहरीले भने उल्टै पतिलाई नै पक्राउ गर्यो । पछि महिलाका दाजुले उनलाई फोन गरेर छुटाए । यहाँको परिवार कल्याण समितिले यो घटनामा समस्या समाधान गर्न नसकेपछि उच्च अदालतसँग सहयोग मागेको छ । ती महिलाले पतिमाथि दाइजो मागेको आरोप लगाएकी छिन् । प्रहरीलाई पूरै घटनाको जाँचको निर्देशन दिइएको छ ।
ती पतिका अनुसार उनी विदिशाका हुन् र उनको बिहे भोपालमा भएको थियो । बिहेलगत्तै उनीहरु शिमला गएका थिए । २ दिनसम्म पत्नी उनीसँगै थिइन् । तेस्रो दिन सामानसहित पत्नी बेपत्ता भइन् । उनले पत्नीलाई खोज्दा नभेटेपछि ससुराली फोन गरे र स्थानीय थानामा रिपोर्ट लेखाए । प्रहरीले भने पत्नीलाई खोज्नुको साटो उल्टै उनलाई पक्राउ गर्यो । ५ दिनपछि पत्नीका दाजुले फोन गरेर बहिनी भेटिएको भन्दै उनलाई छोडिदिन आग्रह गरेपछि प्रहरीले छोडिदियो ।
महिलाले भने दाइजोको लागि यातना दिएको भन्दै उजुरी दिएकी थिइन् । तर उनका पतिले शिमलामा दर्ता गरिएको रिपोर्टको कपीm फोन रेकर्डिङ पेश गरेपछि परिवार कल्याण समिति अप्ठ्यारोमा परेको हो । जिल्ला परिवार कल्याण समिति महिलाको हकमा उनीहरुको पक्ष राख्नको लागि बनाइएकोमा महिलाले नै झुटो उजुरी गरेको पाइएपछि समितिले अदालत गुहारेको हो । समितिले उजुरीबाट पतिका परिवारका सदस्यको नाम हटाए पनि पतिको हकमा के गर्ने भन्नेमा अप्ठ्यारो परेको जनाएको छ । उसले पनि निर्दोष भएकोले यस विषयमा के गर्ने भनेर हाइकोर्टको मार्गदर्शन मागेको छ । डिसी नेपाल बाट साभार



