काठमाण्डु, १२ असारः इटालीको ट्रेण्टो प्रदेशको ऐतिहासिक रोभेरेटो शहरस्थित बेल अफ द फलन भनिने घण्ट अर्थात मारिया डोलेन्स्मा नेपाली राष्ट्रिय झण्डा फहराइएको छ ।
यही जुन २४ का दिन एक विशेष समारोहकाबीच पिस वेलको सामुन्ने नेपाली झण्डा फहराइएकोे जेनेभास्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत जनाएको हो ।
उक्त समारोहमा नेपालको तर्फबाट इटालीका लागि गैरआवासीय राजदूत दीपक धिताल, पिस वेल फाउण्डेसनका प्रमुख संरक्षक सिनेटर अल्बर्टो रोबल लाई राष्ट्रिय झण्डा हस्तान्तरण गरिएको थियो ।
पिस वेलको सामुन्ने नेपालको राष्ट्रिय गानसहित झण्डोत्तोलनपछि १०० पटक घण्टा बजाउनका साथै इटालीको राष्ट्रिय गान समेत बजाइएको थियो ।
नेपालको झण्डा दुई हप्तासम्म घण्टाको सामुन्ने छुट्टै फहराइने एवं तत्पश्चात स्थायी रुपमा अन्य मुलुकका झण्डासँगै राखिने जनाइएको छ । सो अवसरमा फाउण्डेशनका प्रमुख संरक्षक प्रोफेसर सिनेटरले मारिया डोलेन्समा झण्डा स्थापना गर्ने ९६ औँ मुलुकका रुपमा नेपाललाई स्वागत गर्दै शान्ति, भाइचारा र आपसी समझदारीका लागि उक्त स्थान सानो संयुक्त राष्ट्रसंघको रुपमा विकसित हुँदै गएको बताए।
उनले नेपाल र नेपालीप्रति इटाली जनतामा अत्यन्त ठूलो सद्भाव र मित्रता रहेको बताउँदै नेपालको झण्डा उक्त स्थानमा स्थापना भएबाट प्रतीकात्मक रुपमा दुई मुलुकका जनता अझै निकट भएको बताए।
राजदूत धितालले शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको देशको तर्फबाट विश्व शान्ति र भाइचाराप्रति ऐक्यबद्धता जनाउने प्रतीकात्मक घण्ट भएको मिरावेल हिलमा नेपालको झण्डा स्थापित गर्न पाउँदा खुशी र गौरव अनुभव भएको बताए।
उनले नेपाल र इटालीबीच सरकारी तथा जनस्तरमा समेत विस्तार हुँदै आएका सम्बन्धका बारेमा प्रकाश पार्दै यसलाई थप गतिशील र पारस्परिक सहयोगमा आधारित बनाउन आह्वान गरे ।










