शर्मिला पोखरेल

तपाईं बैंकिङ कारोबारका लागि पक्कै एटिएम(ATM) कार्ड चलाउनु हुन्छ । सायद एक भन्दाबढी बैंकहरुका डेविट र क्रेडिट कार्डहरु बोक्नु हुन्छ होला । प्रविधिको विकास र बैंकिङ्ग सन्जालको विकासले गर्दा तपाईं हाम्रो दैनिकी सजिलो पनि भएको छ ।

पैसा निकाल्न घन्टौंउ लगाएर बैंकसम्म पुग्नु पर्ने र दिनभरको काम माया मारेर पैंसा निकाल्न लाईन लाग्नु पर्ने बाध्यता एटिएम सेवाले हटाएको छ । चौंबिसै घण्टा पैंसा निकाल्न सकिने सुविधाले बैंकमा राखेको बचत पूर्ण तरल साधन हुन पुगेको । घरमा दैनिक र आपतकालिन घटनाको लागि पैंसा ल्याएर राख्नु पर्ने बाध्यता एकातिर छैन भने अर्को तिर बचत ननिकालुन्जेल ब्याज पनि आर्जन गर्न सकिएको छ ।

प्रविधिको विकाससँगै जीवन सरल त भएको छ तर यसको प्रयोगको बारेमा बिस्तृत ज्ञान नहुँदा बेलाबेलामा यसले सुविधासंगै समस्याहरु पनि श्रृजना गरेको देखिन्छ । एटिएम को प्रयोग गर्दा कार्ड र पिन नम्बरको सुरक्षा, कार्डको प्रयोग, खाताबाट झिकिएको रकम को जानकारी, खातामा बाँकी भएको रकम, प्राबिधिक गड्बढीले गर्दा कारोबार मा हुनसक्ने कठिनाई जस्ता महत्त्वपुर्ण कुराको सामान्य जानकारी भए यसबाट अझ बढी फाईदा लिन सकिन्छ ।

कसरी गर्ने सुरक्षा ?

बैंकबाट एटिएम कार्ड र पिन नम्बर पाइसकेपछि तुरुन्त पिन लाई परिवर्तन गरि सुरक्षित प्रकारको पिन राख्नु पर्छ । कार्डको पछडिको भागमा आफ्नो दस्तखत गर्नुपर्छ । पिन सकेसम्म अरुले सजिलै अन्दाज गर्न नसक्ने खालको राख्नु पर्छ । पिन कोर्डलाई डाइरी वा कागजमा लेखेर राख्ने बानी कहिले पनि गर्नु हुँदैंन । पर्समा पिन लेखेर कार्ड बोकेको खण्डमा कुनै बखत पर्स हराउदा आफ्नो खाताको पैसा पनि गुमेको कुरा बेलाबखत सुनिन्छ । यस्तै परिवारका सदस्यले पनि कार्ड र डाइरीमा रहेको पिन प्रयोग गरेर पैसा निकालेको घटना पनि बैंकमा परेको उजुरी पछि अनुसन्धान गर्दा भेटिएको छ ।

एटिएम बुथमा हुने सिसिटिभि क्यामराले सबैं जसो कारोबार कैंद गर्ने कारणबाट तीन महिना भित्र उजुरी दिएको अवस्थामा कसले रकम निकालेको सजिलैं थाहा पाउन सकिन्छ । घर परिवार भित्र श्रीमानले श्रीमतीको, श्रीमतीले श्रीमान्को, छोराछोरीले बाआमाको खाताबाट एटिएम प्रयोग गरि पैसा निकाल्ने र सम्बन्धित खातावालाले आफ्नो खातामा भएको रकम बैंकबाट नै हरायो भनेर उजुरी दिँदा परिवार भित्रको सदस्यले नै पैसा निकालेको लाजमर्दो घटनाहरु देखिन्छ । तसर्थ, पिन नम्बर लेखेर नराखौं र कसैंलाई नभनौं यसलाई मनमा नैं सम्झिएर राखौं ।

एटिएम कार्ड प्रयोग गरेर रकम झिक्न खोज्दा प्राबिधिक गड्बढी भई कहिले काही खाताको रकम घट्ने तर पैंसा नपाउने अवस्था पनि हुन्छ । कहिलेकाही एटिएमले पैसा दियो तर तपाईले लिन ढिला गर्नुभयो भने पनि तपाईको हातमा पैंसा नपरिकन पनि खाताबाट रकम कट्टा हुन्छ । यो एउटा सामान्य कुरा हो । तपाईको खाताबाट कट्टा गरेको रकम केही समयमा नै सिस्टमले तुरुन्तै फिर्ता गर्न पनि सक्छ । यसो नभएमा सम्बन्धित बैंकहरुको पनि एटिएममा रहेको ढुकुटीमा पैंसाको हिसाव मिल्दैन तसर्थ तपाईहरुले कुनै उजुरी नगरेपनि बैंकहरुले आफैं हिसावमिलान गर्न सो पैंसा सम्बन्धित खातावालको खातामा फिर्ता गरिदिन्छन् ।

आफ्नै खाता रहेको बैंकको एटिएम मा यस्तो समस्या भए दुई तिन दिन भित्र र अर्को बैंकको एटिएममा यस्तो समस्या भए महिना दिनसम्म रकम फिर्ताको लागि समय लाग्न सक्छ । तसर्थ, खातावालाले आफ्नो खाताको रकम कट्टा भई रकम नपाएको आशंका लागेमा आफ्नो खाता रहेको शाखामा सो बिवरण खुलाई निवेदन दिएमा बैंकहरुलाई हिसावमिलान गर्न सजिलो हुन्छ र छिटो सो रकम फिर्ता हुने प्रक्रिया सुरुहुन्छ । बैंकहरुको हिसावमिलानमा लापर्वाही गरेका छन् भने त्यस्तो पैसा खातामा नफर्कन पनि सक्छ ।

एटिएम मेसिनहरु पनि फरक फरक मोडलका हुन्छन् । कुनै मेसिनले भित्र कार्ड लिएर जान्छ र अनिमात्र कारोवार गर्न दिन्छ । कुनैले कार्ड एक पटक घुसाएर निकाले पछि मात्र कारोबार गर्न दिन्छ । कार्ड लिएर कारोबार गर्न दिने मेसिनले पैंसा दिईसकेपछि तपाइँलाई कार्ड पनि सँगसँगै दिन्छ । तर सो कार्ड लिन ढिला गर्नुभयो भने कार्ड मेसिन आफैंले फिर्ता लिन्छ । सो कार्ड लिन सम्बन्धित ब्यक्ति आफ्नो आधिकारीक परिचय पत्र लिई सोही एटिएम भएको बैंकमा पुग्नु पर्दछ । कार्ड निकाले पछि मात्र कारोबार गर्न दिने मेसिनमा कार्ड अड्कीदैन तर यस्तो मेसिनमा तपाईले पिन नम्बर राखेर कारोबार नसकि बाहिरिनु भयो भने अर्को ब्यक्तिले तपाईको खाताको पैसा निकाल्न सक्छ ।

एटिएम मेसिनमा फल्स बटमहरु प्रयोग गरि पिन ह्याक गर्ने र नक्कली कार्ड प्रयोग गरि अर्काको खाताबाट पैंसा निकालेका घटनाहरु पनि सुनिराखिएको छ । तसर्थ, एटिएम मेसिनको कार्ड छिराउने ठाँउमा हरियोे बत्ति बलेको छ कि छैन हेर्ने यदि त्यस्तो छ भने सो मेसिन कारोबार गर्न सुरक्षित मानिन्छ । तर एटिएम मेसिनमा केही नयाँ कुराहरु जोडिएको शंका भएमा त्यस्ता मेसिनमा कारोवार नगरी बैंकलाई सो सम्बन्धि जानकारी दिनु श्रेयष्कर हुन्छ ।

सम्बन्धित वैंकको एटिएमको प्रयोग

रकम निकाल्दा सकेसम्म आफ्नो बैंकको एटिएमबाट निकाल्नु पर्छ । यसो गरेमा रकम निकाल्न कुनै पनि चार्ज लाग्दैंन । एटिएमको पिन बिर्सिएको अवश्थामा तपाईले नयाँ पिन पनि लिन सक्नुहुन्छ । कार्ड र पिन हराएको अवश्थमा कार्डलाई तुरुन्त ब्लक पनि गर्न सक्नुहुन्छ । अधिकांश बैंकहरुले ग्राहक सेवालाई महत्व दिएर चौबिंस घण्टे हटलाईन सुविधा पनि उपलब्ध गराएका छन् । यस्ता हटलाईन नम्बर एटिएम बुथ वा तपाईलाई दिइएको एटिएम कार्डमा पनि लेखिएको हुन्छ । एटिएम प्रयोग संग सम्बन्धीत कुनै पनि सुविधा तपाईलाई आवश्यक भएमा वा कुनै समस्या भएमा तुरुन्त सो नम्बरमा सम्पर्क गरि सहयोग लिन सक्नुहुनेछ । एटिएमहरु मेसिनहरु लगातार बिग्रिराख्ने र आफुलाई कारोबार गर्न अप्ठेरो परेमा सम्बन्धित बैंकको कार्यलय प्रमुखलाई उजुरी दिनुभयो भने तपाईहरु जस्तै अन्य सेवाग्राहीहरु भविष्यमा मार्कामा पर्नुहुन्न ।

पोस मा पनि कारोवारको लागि एटिएम कार्ड प्रयोग गर्न सकिन्छ । पोसमा कारोबार गर्दा बिना पिन पनि पेमेन्ट गर्न सकिन्छ । तसर्थ, व्यवसायीहरुले तपाईहरुलाई बिलमा हस्ताक्षर गराउदछन् र त्यो हस्ताक्षरलाई तपाईको एटिएम कार्डको हस्ताक्षर सँग सनाखत गर्ने गर्छन् ।

पोसमा कारोबार गर्दा संसारभर छुट्टै थप चार्ज लाग्दैन तसर्थ यसको प्रयोग बढ्दो छ । तर पोसमा कारोवार गर्दा पनि तपाईको खाताबाट एउटै कारोबारको लागि एक भन्दा बढी पटक रकम कट्टा हुनसक्छ । तसर्थ, तपाईले आफ्नो खातामा कति ब्यालेन्स थियो, कति कट्टा भयो र कति बाँकी छ भन्ने कुराको हेक्का राखिराख्नु पर्छ । यसका लागि खातामा मोवाइल बैंकिङ्ग सुविधा लिनुभएको भए सजिलो हुन्छ ।

पोस वा एटिएम मा कारोबार गरेरपछि कारोबार रकम बरावरको पैंसा तपाईको खाताबाट कट्टि भएको एसएमएस आँउछ । यदि एकपटक कारोबार गर्दा एकपटक भन्दा बढी तपाईको खाताबाट रकम कट्टी भयो भने आफ्नो खाता भएको बैंकमा गएर लिखित जानकारी गराउनुस तपाईको पैंसा एक महिना भित्र खातामा फिर्ता हुन्छ ।

एटिएम कार्डबाट एक पटकमा, एक दिनमा र एक महिनामा अधिकतम कति सम्म नगद निकाल्न सकिन्छ भन्ने व्यवस्था हुन्छ । पोसमा कति रकमसम्म एक पटकमा, दैनिक र मासिक अधिकतम सिमा कतिसम्म कारोबार गर्न पाइन्छ ? यसलाई कसरी चलाउने जस्ता सामान्य जानकारी राख्न सकेमा प्रविधिको विकाससँगै फाइदा लिन सकिन्छ । लोकान्तर बाट साभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय