नेपाल सरकारले मलेसिया जाने नेपाली कामदारलाई रोक लगाएपछि मलेसिया आफैं यसको समाधान खोज्न तम्सिएको छ ।

नेपाली कामदारहरुलाई विभिन्न बाहानामा पैसा लिएर ठगेपछि नेपाल सरकारले मलेसिया जाने नेपाली कामदारलाई रोक लगाएको हो । तर सधैंका लागि बन्द नै नभएपनि पुनः कामदार पठाउने विषयमा भने नेपाल सरकार र मलेसिया सरकारबीच हालसम्म कुनैपनि समझदारी भएको छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपाल सरकरले नेपालीहरुलाई मलेसिया पठाउन रोकेपछि मलेसियाली श्रम मन्त्रीले केहि दिन पहिले उचित निकासका लागि नेपाल सरकारसँग आग्रह गरेका थिए । तर नेपाल भने मलेसिया सरकारबाट ठोस कदम नचालिएसम्म कामदार पठाउने मनस्थितिमा देखिन्न ।

यही सन्दर्भमा मलेसियाले नेपाली कामदारलाई जीटुजीमार्फत कामदार ल्याउन सकिने जनाएको छ । दुई देशका सरकारबीचको सम्झौतामा सरकारी तवरबाट नै कामदार लिनेदिने प्रक्रिया जीटुजी हो । जीटुजी लागु भयो भने कामदारहरु सरकारी तहबाट नै लेनदेन हुनेछ भने म्यानपावरको आवश्यकता पर्ने छैन । त्यसका लागि सरकारले विदेश पठाउने निश्चित मापदण्ड भने तय गर्नेछ ।

जीटुजीको स्पष्ट उदाहरणको रुपमा हाल नेपाल सरकारले दक्षिण कोरियामा कामदार पठाउने पक्रियालाई लिन सकिन्छ ।

खासमा हाल पनि सरकारले जीटुजीको व्यवस्था कामदार पठाउने सबै मुलुकमा गर्न चाहेको छ । यदि यो व्यवस्था लागू भयो भने कामदारको सुरक्षा देखि पाउने पारिश्रमिकसम्मका सबै कुरा सरकारी स्तरबार निर्धारण हुन्छ । यसले कामदारलाई सजिलो हुन्छ । कामदारलाई फाईदा हुने यस्तो व्यवस्था लागू भए विदेश पुगेर भनेको काम नपाउने, पारिश्रमिकमा फरक पर्ने जस्ता समस्या नआउने वैदेशिक रोजगारका जानकार बताउँछन् ।

मलेसियाले हाल प्रस्ताव गरेको जीटुजी प्रक्रियाको मोडेल कस्तो हुने भन्ने कुरा भने अझै निश्चित भएको छैन । यसका लागि दुवै देशका अधिकारीहरु बसेर छलफल गरेपछि निर्धारण हुने बुझिएको छ । दैनिक नेपाल बाट