इण्डोनेशियाको आचेह प्रान्तको एक जिल्लामा महिला र पुरुषलाई सँगसँगै बसेर खाना खान प्रतिबन्ध लगाइएको छ । मुस्लिम बहुल रहेको यो जिज्लामा अब पुरुष र महिला एकअर्कासँग विवाहित वा नातेदार भए मात्र सँगै बस्न पाउने छन् । अधिकारीहरुले यस नियमले महिलाहरुलाई बढी ‘संस्कारी’ बनाउन सहयोग गर्ने बताएका छन् । इण्डोनेशियाको आचेह प्रान्त इण्डोनेशियामा इस्लामिक कानुन लागु गर्ने एक मात्र प्रान्त हो । सन् २००५ मा लामो समयको पृथकतावादी युद्ध अन्त्य गर्नको लागि यस प्रान्तलाई स्वायत्तता दिइयो । त्यसपछि यस प्रान्तका राजनीतिज्ञले सन् २००९ मा यस प्रान्तमा सरिया कानुन लागु गरे । विगतमा पनि यस प्रान्तमा महिलाहरुमाथि विभिन्न निषेध लगाइने गरेको छ । यी कडा छेकथुनको अन्तराष्ट्रिय स्तरमा विरोध पनि हुने गरेको छ ।
यस प्रान्तमा समलिंगी सम्बन्ध, जुवातास तथा रक्सी सेवनजस्ता कार्य गर्नेहरुलाई सार्वजनिक स्थानमा कोर्रा हानिन्छ । पछिल्लो नियम अनुसार, सुमात्रा टापुमा पर्ने विरेउरेन जिल्लाका महिलाहरुले रेस्टुरा र कफि पसलहरुमा पुरुषहरुसँग एउटै टेबलमा बस्न पाउने छैन ।
एक्कै ठाँममा काम गर्ने पुरुष र महिला सहकर्मीहरुले पनि अब एउटै टेबल प्रयोग गर्न पाउने छैनन् ।
“हाम्रो उद्देश्य भनेको महिलाहरुको आत्मसम्मानको रक्षा गर्ने हो । यसले गर्दा उनीहरुले बढी सहज, आराम महसुस गर्छन् । साथै उनीहरु संस्कारी हुन्छन् र यसले सरिया कानुन उलघंन हुने अवस्था नियन्त्रण गर्छ ,” स्थानीय सरिया कार्यालयका एक अधिकारी जुफ्लिवानले भने ।
जिल्ला प्रमुखले अगस्ट ५ मा हस्ताक्षर गरेको निर्देशिकाको अर्को हिस्साले परिवारका सदस्यबीनाका अथवा एक्लै महिलाहरुलाई रेस्टुरा र क्याफेमा रातको ९ बजेपछि खाना दिनसमेत निशेध गरेको छ ।
अधिकारीहरुले यो नियम पालना गर्ने नगर्ने रेस्टुरा संचालकमा भर पर्ने तर उलघंन गर्नेहरुलाई सजाय नदिइने बताइएका छन् ।
तीन वर्ष अघि आचेहको प्रान्तीय राजधानी बाद आचेहले एक्लै रहेकी महिलाहरुलाई क्याफे र खेलकुद हलहरुजस्ता मनोरञ्जनात्मक स्थानहरुमा राति ११ बजे पछि प्रवेश गर्न प्रतिबन्ध लगाएको थियो ।
त्यस्तै सन् २०१३ मा सुमात्राको उत्तरी सहर ल्होकसेउमावेले महिलाहरुलाई मोटरसाइकलमा बस्दा दुवै खुट्टा एक्कैपट्टी झारेरमात्र बस्नु पर्ने निर्देशन दिएको थियो ।
आफ्नो निर्णयको कारण बताउदै त्यस बेलाका सहरका मेयरले महिलाहरुले दुई खुट्टा फट्टाएर बस्दा उनीहरुको शरीरको कर्भ बढी प्रष्टिने र यसले अश्लिलता बढ्ने बताएका थिए ।



