बुबा केशव रेग्मी र आमा अम्बिका रेग्मीको कोखबाट बालाजु काठमाण्डौंमा जन्मिएर हाल अमेरिकालाई कर्मथलो बनाएका प्रमोद रेग्मीले तरुण मा.बि. बाट एसएलसीको परिक्षा पास गरेका हुन् ।
त्यसपछि उनले Balaju School of Engineering and Technology बाट आधारभुत प्राविधिक शिक्षा एवं त्रिचन्द्र कलेजबाट बि.ए.सम्म अध्ययन गरेका छन् । उनी थप अध्ययको लागि २०५४ सालमा अमेरिका प्रस्थान गरेका थिए ।
मनभरि रहर,चाहना र सुखद भविष्यको सपना बोकेर अध्ययनको सिलसिलामा २३ वर्षको कलिलो उमेरमा अमेरिका हान्निएका श्री रेग्मीको चाहना भने सानैदेखि पाइलट बन्ने थियो । बहुप्रतिभाशाली व्यक्तित्व एवं महत्वाकांक्षी स्वभावका श्री रेग्मी सानैदेखि केही न केही गरेर आफ्नो पहिचान बनाउन चाहन्थे तर उचित साधन र श्रोतको अभावमा उनको सपना अधुरै रहेको थियो ।
अमेरिका छिरेपछिका उनका अधिकांश दिनहरू पनि सुखद हुन सकेनन् ,हर दिन हर रात संघर्ष गर्दैमा बिते । उनी उचित अवसरको खोजीमा थिए । सर्वप्रथम त उनलाई आफ्नो अध्ययन पूरागर्नु थियो । दोस्रो कुरा अमेरिकामा आफूलाई स्थापित गर्न थियो । यी दुवै चुनौतीहरू पार गरिसकेपछि बल्ल उनले आफ्नो सपनालाई निरन्तरता दिने अठोट गरे ।










