अर्पण मगर
क्वालालम्पुर । आइतबार साँझ विषालु मदिरा सेवनपछि मृत्यु भएका ७ नेपालीमध्ये पाँचको परिचय खुलेको छ । विषालु मदरा सेवनबाट ७ नेपालीसहित १५ को मृत्यु भएको छ । अस्पतालमा उपचार गराइरहेका ३३ मध्ये १५ नेपाली छन् ।
क्वालालम्पुरको सुनगाई बुलो, गोमबाक, काजाङ, क्लाङ र शाह आलम क्षेत्रमा मदिरा सेवन गरी बिरामी परेका ४८ मध्ये १५ को मृत्यु भएको हो । क्वालालम्पुरका पुलिस कमिस्नर माजलान मानसोरले ७ नेपालीसहित १५ को मृत्यु भइसकेको र बाँकी अरु विभिन्न देशका ३३ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको पुष्टि गरेका छन् ।
मृत्यु हुने नेपालीहरु निम्न छन्ः
१. आइतसिंह गोले सर्लाही
२. भीषण बाबु कार्की, सोताङ सोलुखुम्बु
३. मिमबहादुर घले, धादिङ
४. विशाल बुढाथोकी, ठेगाना खुल्न बाँकी
५. सञ्जय उराउ, ठेगाना खुल्न बाँकी ।
बाँकी दुई जनाको परिचय खुल्न बाँकी ।
अस्पतालमा उपचाररत बिरामीका अनुसार उनीहरुले कालाङक्षेत्रका विभिन्न पसलबाट म्याण्डले ह्विस्की, किंगफिसर बियर र ग्राण्ड रोयल ह्वीस्की सेवन गरेका थिए । अस्पतालमा उपचाररत बिरामीमा बान्ता आउने र श्वास फेर्न गाह्रो हुने समस्या देखिएको छ । सबै बिरामीलाई एउटै लक्षण देखिएको र उनीहरु सबैले यी तीनमध्ये एक मदिरा सेवन गरेको पाइएको हो । मलेसियाको मेट्रो दैनिकका अनुसार, नेपाली र म्यानमारबासीले सञ्चालन गरेको मदिरा पसलमा खरिद गरेको मदिरा सेवनबाट ठूलो मानवीय क्षति भएको हो । प्रहरीले मदिरा पसल सञ्चालकलाई पनि नियन्त्रणमा लिइसकेको छ । जनता समाचार बाट










