काठमाडौं — पश्चिमी मेक्सिकोको एक शहरमा लाश राख्नका लागि मूर्दाघर कम भएकाले ट्रकमा लाश राख्न थालिएको छ । शहरमा सडकको किनारमा अनेकौं ट्रक भेटिन्छन् जसलाई ठूलो फ्रिज बनाएर मूर्दाघरका रूपमा काम चलाइँदैछ ।
देशको त्यो भागमा लागूऔषधको समस्या भयावह रूपमा रहेको छ र धेरैजना यसको शिकार भएका छन् ।
मेक्सिको लागूऔषध र हत्याका कारण संसारभरि बदनाम छ ।
जलिस्को शहरमा यस वर्ष मात्रै १६ हजार ३३९ मानिसको हत्या भइसकेको छ । संसारमा अपराध दरको हिसाबमा मेक्सिको २०औं स्थानमा छ ।
शहरमा ट्रकभित्र बनाइएका मूर्दाघरका कारण दुर्गन्ध आएर मानिसलाई समस्या पर्न थालेको छ । शहरका सडकमा हिँड्नै मुश्किल पर्न थालेको छ ।
राष्ट्रिय मानवअधिकार आयोगले यो घटनाको निन्दा गर्दै मृतकको न्यूनतम सम्मान पनि नगरिएको बताएको छ ।
जलिस्को प्रशासनले मूर्दाघर सञ्चालकलाई निलम्बित गरेको छ । मूर्दाघर प्रमुखले आफ्नो जिम्मेवारी सही तरिकाले निर्वाह नगरेको प्रशासनले जारी गरेको बयानमा लेखिएको छ ।
मृतकलाई सही तरिकाले नराखिएकोमा सजाय दिने प्रशासनले हत्या र लागूऔषध व्यापार रोक्न चाहिँ नसकेको भनी आलोचना पनि भएको छ ।
एजेन्सी



