नयाँ दिल्ली, सम्पत्ति भएर मात्रै के गर्नु र, जीवनमा सन्तोष नभएपछि ।
यस्तै भएको छ भारतका एकजना धनी बृद्धलाई ।
८० करोड सम्पत्तिका मालिक ती बृद्धाले जीवनबाट असन्तुष्ट भएर आफ्नै चिहान खनेको घटना यतिखेर चर्चामा छ ।
भारतीय मिडियाका अनुसार, आन्ध्रप्रदेशको गन्नावरम गाउँका ७० वर्षीय बृद्धले आफ्नै चिहान खनेका हुन ।
मिडियामा प्रकाशित समाचार अनुसार, उनी जिउँदै चिहानमा गाडिन चाहेका थिए ।
स्वार्थी र मतलबी देशमा बाँचिरहेकोले बाँचेर अर्थ छैन भन्ने भावनावश उनी आत्महत्या गर्न गइरहेको थाहा पाएपछि मौकामा प्रहरी पुगेर उनलाई बचाएको थियो ।
तथिरेड्डी लछि नाम गरेका ती बृद्धले पाँच फीट गहिरो चिहान खनेका थिए । यतिमात्रै होइन, उनले ढुंगा र सीमेन्ट पनि राखेका थिए । उनले जिउँदै आफूलाई पुर्ने पुरै उपाय गरेका थिए ।
लछिका अनुसार, आन्ध्रप्रदेश र सिंगो भारतमा नै कतैबाट पनि न्यायका आशा नपाएपछि उनले पापीहरुको देशमा बाँच्नुभन्दा मर्नु निको ठानेर उक्त पाईला चालेका थिए ।
प्रहरी घटनास्थलमा पुग्दा समेत लछिलाई रोक्न त्यति सजिलो भएन । मछरोला प्रहरी स्टेशनका इन्सपेक्टर दिलिप कुमारको टोली घटनास्थल पुगेपछि उनलाई आत्महत्याबाट रोक्न निकै कोशिश गर्नुपर्यो ।
केही सीप नलागेपछि आत्महत्या गर्न खोजेको आरोपमा कानुनी कार्वाही गर्ने धम्की दिएपछि लछिले प्रहरीको कुरा सुनेको प्रहरीले जनाएको छ ।
लछि ५० करोड भारतीय रुपैयाँ बराबरको जमिनका मालिक हुन । गुन्टुर जिल्लाका नाम चलेका धनीहरुमा उनी गनिन्छन् । परिवारमा श्रीमती र दुई छोरा छन् । तर अध्यात्ममा रुचि भएका कारण १० वर्षदेखि आफ्नै खेतमा झुप्रो बनाएर बस्दै आएका छन् ।



