एजेन्सी । लिङ्ग परिवर्तन गरेर एकाआपसमा बिहे गरेका दुई युवती डिभोर्स माग्दै अदालत पुगेका छन् । लिङ्ग फेरेर बिहे गरेका दुई युवतीले कुनै पनि हालतमा आफूहरुलाई डिभोर्स चाहिएको भन्दै अदालत पुगेका हुन् ।
भारतको हरियाणा राज्यमा बिहीबार दुई युवती डिभोर्स माग्दै जिल्ला महिला एवम् बाल संरक्षक अधिकारी कार्यालय पुगेका हुन् । पाँच वर्षअघि लिङ्ग परिवर्तन गरेर एक युवती पुरुष बनेकी थिइन् । पुरुष बनेकी उनले आफ्नै साथीसँग बिहे पनि गरिन् ।
बिहेपछि उनीहरुले अढाई सालको एक बालकलाई छोराका रुपमा अपनाएका थिए । दुवै युवतीले निवेदन दिएपछि जिल्ला महिला एवम् बाल संरक्षक अधिकारीको टिमले दुवैलाई सुनुवाइका लागि बोलाएको छ ।
सोनीपत निवासी महिलाले जिल्ला महिला संरक्षण अधिकारी कार्यालयमा दिएको उजुरीमा पटियाला चौक क्षेत्र निवासी युवतीसँग आफ्नो बिहे भएको खुलाएकी छन् ।
पाँच वर्ष पहिले उनकी साथीले लिङ्ग परिवर्तन गराएपछि दुवैले बिहे पनि गरे । त्यसपछि दुवै पति-पत्नी बनेर बस्न थाले । तर महिलाबाट पुरुष बनेकी उनकी साथी कुनै काम गर्दिन थिइन् । आर्थिक अवस्था कमजोर भएपछि घर चलाउन संकट पर्यो । त्यहीकारण उनीहरुबीच झगडा पनि हुन थाल्यो । अहिले आएर दुवैजना एकअर्कासँग बस्न नसक्ने भन्दै डिभोर्सक लागि अधिकारीकहाँ पुगेका हुन् ।



