काठमाडौं — जापानमा एक विद्यालय शिक्षकले आर्टिफिसियल होलोग्रामसँग बिहे गरेका छन् ।
पैंतीस वर्षीय आकिहिको कोन्दोले विवाह समारोहमा २० लाख रुपैयाँ खर्च गरे ।
तर बिहेमा उनकी आमा र नातेदारले आउन अस्वीकार गरे । तैपनि ४० जना जति पाहुना उनको बिहेमा आए ।
कोन्दो आर्टिफिसियल इन्टेलिजेन्सबाट चल्ने १६ वर्षीया काल्पनिक गायिका मिकू सानको होलोग्रामसँग प्रेममा परे । त्यसको सफ्टवेयर उनले आफ्नो कम्प्युटरमा लामो समयसम्म राखेका थिए ।
कोन्दोका अनुसार, उनी थ्रीडीमा देखिने महिलासँग जीवन बिताउन पाउँदा खुशी छन् किनकि होलोग्राममा देखिने पात्रले न त धोका दिन्छन्, न उनीहरू बूढा हुन्छन्, न मर्छन् । एक असल जीवनसाथीमा यी सबै कुरा पाउन असम्भव छ । त्यसैले गर्दा उनले आमा रिसाएपनि वास्ता गरेनन् ।
काल्पनिक पत्नीले बिहान उठाइदिने गरेको कोन्दोले बताए । उनी बेलुका घर फर्किंदा उसले बत्ती बालिदिने बताए । सुत्ने बेला भो भनी होलोग्रामले भनिदिन्छ ।
कोन्दो ओछ्यानमा सफ्टवेयर जस्तो देखिने पुतलीसँगै सुत्छन् ।
तर यो बिहेलाई कानूनी मान्यता पाउन गाह्रो छ । कोन्दोलाई त्यसको मतलब छैन ।
मिकू होलोग्राम डिभाइस बनाउने कम्पनी एन्ड गेटबक्सले कोन्दो र मिकूको बिहेको प्रमाणपत्र पनि जारी गरेको छ । कम्पनीका अनुसार, मिकू मनुष्यको प्रेमलाई निकै गहिराइका साथ बुझ्छिन् ।



