एजेन्सी। न्यूजिल्याण्डमा हाइस्कुल परीक्षामा एउटा निकै अनौठो घटना भएको छ । यहाँको हाइस्कुल बोर्ड परीक्षामा एउटा प्रश्नमा प्रयोग गरिएको एक शब्दको अर्थ नबुझेपछि विद्यार्थीले परीक्षा बोर्डमा नम्बर नकाटिदिन निवेदन दिएका छन् । ती विद्यार्थीले प्रश्नमा भएको ‘ट्रिभियल’ (तुच्छ) शब्दको अर्थ बुझेका थिएनन् जसका कारण प्रश्नको जवाफ लेख्न उनीहरुलाई निकै कठिन भएको थियो ।
यहाँको परीक्षा बोर्डमा २६ सय विद्यार्थीले निवेदन दिएर आफूहरु उक्त शब्दसँग परिचित नभएको भन्दै उक्त प्रश्नको जवाफको नम्बर नकाटिदिन भनेका छन् । परीक्षकहरुले भने प्रश्नमा जुन किसिमका शब्द प्रयोग गरिएका थिए ती शब्दबारे १३ वर्षका बालकलाई पनि जानकारी हुने दावी गरेका छन् । प्रश्नमा रोमन सम्राट जुलियस सिजरको एक भनाइमा आधारित रहेर निबन्ध लेख्न भनिएको थियो । निबन्धको विषय थियो – युद्धमा तुच्छ कारणले भएका घटनाहरुको महत्व ।
न्यूजिल्याण्डको क्वालिफिकेशन अथोरिटीले भनेको छ ‘यदि परीक्षार्थीहरुले त्यो शब्दलाई अर्कै अर्थमा बुझेर कुनै पनि नयाँ आइडियाको साथमा सिजरको भनाइमा आधारित रहेर निबन्ध लेखेका छन् भने यसलाई उनीहरुको समझदारी मानिनेछ । यो शब्दको अर्थ अर्कै बुझेको मात्र कारणले परीक्षार्थीको नम्बर काटिने छैन ।’ यो शब्दलाई आफ्नै तरिकाले फरक अर्थमा परिभाषित गरेर लेखिएका निबन्धको नम्बर काटिने छैन तर लेख्दै नलेखेकाको हकमा भने यो सहुलियत लागु हुने छैन ।



