अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर ओरालो लागेको छ । भाउ घट्न थालेपछि भारतको घरेलु बजारमा पेट्रोल र डिजेल सस्तिएको छ । तर, भारतबाटै तेल खरिद गर्ने नेपाल आयल निगमले दुई महिनाअघिकै मूल्यमा नेपाली उपभोक्तालाई पेट्रोल, डिजेल बिक्री गरिरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य ६५.९ डलर प्रतिब्यारेल कायम भएको छ । डेढ महिनाअघि कच्चा तेलको भाउ ८६.२९ डलर प्रतिब्यारेल थियो । एक महिनामा कच्चा तेलको भाउ २३ प्रतिशतले घटिसकेको छ । यो अवधिमा भारतीय बजारमा पेट्रोल ६.१२ भारु र डिजेल ४.१३ भारु सस्तिएको हो ।

आयल निगमले तेल खरिद गर्दै आएको भारतीय आयल कर्पाेरेसन (आइओसी)ले एक महिनायता हरेक दिन तेलको मूल्य घटाएको छ । यसरी भारतीय बजारमा एक महिनामा २८ दिनसम्म लगातार मूल्य घटेको छ । आइतबार पेट्रोल २० पैसा र डिजेल १८ पैसा भारु प्रतिलिटर घटाएको छ ।

आइओसीले हाल दिल्लीमा पेट्रोल ७६.७१ भारु र डिजेल ७१.५६ भारु प्रतिलिटर मूल्य निर्धारण गरेको छ । एक महिनाअघि दिल्लीमा पेट्रोल ८२.८३ भारु र डिजेल ७५.६९ भारु प्रतिलिटर थियो ।

आइओसीले १५ दिनमा पेट्रोल ६.७८ रुपैयाँ घटाएर पठायो, तर आयल निगम मासिक ४० करोड घाटामा

आइओसीले नेपाल पठाउने तेलको मूल्य पनि घटाएको छ । निगमले १५ कात्तिक (१ नोभेम्बर) मा पेट्रोल ६७.९३ रुपैयाँ र डिजेल ७८.०२ रुपैयाँ प्रतिलिटरमा रक्सौल नाकामा खरिद गरेको थियो । ३० कात्तिकमा पेट्रोल ६१.१५ रुपैयाँ र डिजेल ७२.९६ रुपैयाँमा खरिद गरेको छ । यसरी १५ दिनमा पेट्रोल ६.७८ रुपैयाँ र डिजेल ५.०६ रुपैयाँ सस्तोमा निगमले खरिद गरेको छ ।

निगमले आइओसीबाटै तेल किन्ने भएकाले भारतमा मूल्य घटबढ हुँदा नेपाली बजारमा प्रभाव पर्छ । एक महिनामा आइओसीले दुईपटक मूल्य घटाएर पठाइसकेको छ । तर, निगमले मूल्य समायोजन गरेको छैन ।

निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार अहिले मासिक १५ अर्ब रुपैयाँको इन्धन आयात भइरहेको छ । पछिल्लो समय आइओसीले खरिद दर घटाएर पठाए पनि निगमको घाटा पूर्ति नभएको उनको भनाइ छ । ‘अहिले घटेको मूल्यले पनि हामीलाई राहत त दिएको छ, तर घाटा पूर्ति हुन सकेको छैन, हामीले तेल खरिदको पैसा तिर्न नै यसपटक धेरै मुस्किल भयो,’ उनले भने ।

चालू आर्थिक वर्ष ०७५/७६ मा निगमले अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य समायोजन गरेको छैन । आर्थिक वर्षको सुरुवातमै मूल्यवृद्धि निरन्तर भएपछि कांग्रेस समर्थित नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताका लागि आन्दोलन ग-यो । त्यसपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले दसैँ आउन लागेपछि मूल्यवृद्धि नगर्न निर्देशन दिए । दसैँ सकिएपछि मन्त्री यादवकै निर्देशनमा छठसम्म इन्धनको मूल्यवृद्धि नगर्ने निगमले निर्णय लियो ।

निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले मूल्य समायोजनमा सरकारले नियन्त्रण गर्दा दुई महिनामा ३ अर्ब ४० करोड रुपैयाँ नोक्सान भइसकेको बताए ।

‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेअनुसार नेपाली बजारमा मूल्य समायोजन हुन सकेन, जसकारण निगमलाई ३ अर्ब ४० करोड नोक्सान भयो,’ उनले भने, ‘नोक्सान भएको रकम मूल्य स्थिरीकरण कोषबाट भर्पाईका लागि आग्रह गर्न लागेका छौँ ।’ कोषमा ४ अर्ब २४ करोड रुपैयाँ जम्मा भएको छ । त्यहीँबाट ३ अर्ब ४० करोड झिकेर लिने निगमको तयारी हो ।

इरान नाकाबन्दीले कच्चा तेलको मूल्य घट्यो

अमेरिकाले ५ नोभेम्बरदेखि इरानमाथि आर्थिक नाकाबन्दी सुरु गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आइरहेको छ । अमेरिकाले इरानलाई नाकाबन्दी लगाए पनि चीन, भारत, जापानलगायत धेरै मुलुकलाई इरानबाट तेल किन्न पाउने छुट दिएको छ । त्यसो हुँदा इरानको तेल उत्पादन घटेको छैन । अर्कातिर, तेल संकट आउला भनेर अमेरिका र साउदी अरेबियाले उत्पादन बढाएका छन् । त्यसले बजारमा आपूर्ति बढेको छ र मूल्य घटेको छ ।

गएको साता मात्र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ६ दशमलव २ प्रतिशत घटेको सिएनबिसीले जनाएको छ । गत १२ नोभेम्बरमा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ७० दशमलव १२ डलर रहेकोमा सोमबार ६५ दशमलव ९ डलरमा झरेको छ । यससँगै तेलको मूल्यमा लगातार छैटौँ साता पनि कमी आएको छ । नया पत्रिकामा खबर रहेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय