भारतको भोपालका निमोनियाबाट पीडित एक व्यक्तिको स्थिती बिग्रिएपछि सोमबार सात महिने गर्भवतीले एक निर्माणाधीन भवनको चौथो तल्लाबाट हाम फालिन् । रगताम्मे उनलाई छिमेकीले अस्पताल पुर्याए । बेहोस उनले जुम्ल्याहा सन्तानलाई जन्म दिइन् र मृत्युवरण गरिन् । तीन घण्टापछि ती दुई नवजात शिशुले आँखै नखोली संसारबाट बिदा भए । त्यसको केही घण्टापछि भेन्टिलेटरमा राखिएका श्रीमानको पनि मृत्यु भयो । महिलाका देवरका अनुसार भाउजुलाई ‘अस्पताल आउनुस्’ भन्दा श्रीमानको मृत्यु भइसकेको ठानेर उनले यो कदम उठाएकी हुन् ।
३७ वर्षे मनोज गोहे भोपालस्थित कोलारको स्वरुप साइनाथ नागरमा आफ्नी श्रीमती गायत्रीसँग बस्दथे । मनोज कार फाइनान्समा काम गर्दथे । दुबैले १० वर्षअघि प्रेम विवाह गरेका थिए ।
नोभेम्बर १२ तारिखमा मनोज रुघा खोकी लागेका कारण उपचारका लागि बंसल अस्पताल पुगे । उनको स्थिती खराब भएको बताउँदै भर्ना लिइयो । गायत्री सात महिनाकी गर्भवती थिइन् त्यसकारण मनोजले उनलाई अस्पताल आउन दिएनन् । सोमबार दिउँसो करिब साढे एक बजे गायत्रीले अस्पतालमा भएका देवर तरुणलाई फोन गर्दा तत्काल अस्पताल आउन आग्रह गरे ।
करिब ४० फिट माथिबाट हाम फालिन्ः
स्रोतका अनुसार गायत्रीलाई अस्पताल ल्याउनका लागि तरुणले एक छिमेकीलाई आग्रह गरेका छन् । छिमेकी आफ्नो कार निकालिरहेका थिए । गाउन लगाएकी गायत्रीले कुर्ता सुरुवाल लगाइन् । उनी घर बाहिर आइन् र नजिकै रहेको निर्माणधिन भवनमा गइन् । त्यसपछि त्यहाँको चौथो तल्लाबाट करिब ४० फिट माथिबाट हाम फालिन् । सुरुमा उनी कोलोनीको पर्खालमा बजारिइन्, त्यसपछि ग्रिलमा र पछि सडकमा पछारिइन् ।
१० वर्षपछि गर्भवती हुँदा जताततै हर्षः
गायत्रीका दाइ नरेशका अनुसार विवाहको १० वर्षसम्म पनि सन्तान नहुँदा घरमा चिन्ताको विषय थियो । उनी भन्छन्, ‘सन्तानका लागि उनीहरुले अस्पताल धाउन सम्म धाए । अस्पताल मात्रै होइन, उनीहरुले धामी झाँक्रीसमेत धाए । घरमा अत्यधिक खुसीको माहौल थियो । गायत्रीको सात महिनाको गर्भ थियो, त्यो पनि जुम्ल्याहा । दुबैको परिवारलाई यी सन्तानको व्यग्र प्रतिक्षा थियो ।’
नरेश थप्छन्, ‘गायत्रीले शल्यक्रियामार्फत एक छोरा र एक छोरीलाई जन्म दिइन् । बच्चालाई जन्म दिएलगत्तै गायत्रीको मृत्यु भयो । त्यतिबेलासम्म दुई सन्तान जिउँदै थिए तर भेन्टिलेटरमा राखिएको थियो । तर डाक्टरले उनीहरुलाई तीन घण्टासम्म मात्र जिउँदो राख्न सके ।
साढे चार घण्टामा चार जीवनको अन्त्यः
१ः३० बजेः गायत्री अस्पताल नगएर भवनको चौथो तल्लामा पुगिन् र हाम फालिन् ।
२ बजेः बेहोस गायत्रीले जुम्ल्याहा सन्तानलाई जन्म दिएपछि मृत्युवरण गरिन् ।
५ बजेः तीन घण्टा भेन्टिलेटरमा बसेपछि दुबै नवजातको पनि मृत्यु ।
६ बजेः बंसल अस्पतालमा भेन्टिलेरमा राखिएका मनोज गोहेको पनि मृत्यु ।
एजेन्सी



