सहरी क्षेत्रमा सम्बन्धका नयाँ–नयाँ आयाम र प्रभाव देखिन थालेका छन् । नेपालमा पनि पोष्टम्यारिज अफेयर्सको प्रभाव तिव्र परेको छ ।
गत १ भदौदेखि सम्बन्धलाई परिभाषित गर्ने नयाँ देवानी कानुन लागु भए पनि सहरको चरित्रमा भने परिवर्तन आएको छैन, बरु कानुनले अझ मद्दत गरेको जस्तो देखिन थालेको छ ।
पोष्टम्यारिज अफेयर्सको अर्को परिभाषा एक्स्ट्रा म्यारिज अफेयर्स पनि हो । फिल्मी, बैंकिङ, मिडिया, ठूला उद्योग र कर्पोरेट हाउसमा काम गर्ने, सरकारी कर्मचारी पनि यस्तो अफेयर्सबाट टाढा हुन सकेका छैनन् ।
‘घर विगारेको भन्ने उजुरी र सम्बन्धमा खटपट परेको भन्ने मुद्दा निक्कै आउने गरेका छन् । मिलाउन सक्नेलाई मिलाएका छौं, नसक्नेलाई अदालतको ढोकातिर पठाएका छौं’, एक प्रहरी अधिकारी भन्छन्,‘आजभोली पुरुषका भन्दा पनि महिलाका यस्ता सम्बन्धका उजुरी बढि आउने गरेका छन् । कतिपयले त सम्पत्ति नै लिएर गएको भन्दै उठाइदिन पनि भनेका छन् ।’
वैदेशिक रोजगारमा गएका पतिबाट रकम लिने र प्रेमीसँग उडाउने, युरोप अमेरिकामा रहेका पति भेट्न जानुअघि अरुसँगै लामो समयसम्म प्रेममा रहनेलगायतका घटना काठमाडौंलगायतका सहरमा व्याप्त नै छन् ।
घरमा पति या पत्नी हुँदाहुदै पनि बाहिर अन्यसँग सम्बन्ध राख्नुलाई ‘पोस्ट म्यारिज’ वा ‘एक्स्ट्रा म्यारिज’ अफेयर्सका रुपमा बुझिन्छ । यही अफेयर्सको चलन बढ्दै जाँदा पारिवारि (जायज) सम्बन्ध टाढा र अबैध सम्बन्ध नजिक हुन थालेका छन् ।
समाजमा विकृतिका रुपमा फैलँदै गरेका यस्ता व्यवहारले वैवाहिक सम्बन्धमात्र तोडिएका छैनन् समाजिक र सांस्कृतिक मान्यता पनि ढल्न थालेका छन् । घरमा पति वा पत्नी हुँदाहुदै परस्त्री वा परपुरुषस“ग सम्बन्ध जोडिँदै जादा पारिवारिक माया, स्नेह, विश्वास र सम्बन्धमा खोट पैदा भई रिस, असमझदारी हुँदै सम्बन्ध टुंगिन थालेका छन् । कतिपय अवस्थामा सम्बन्धका कारण नै अपराध पनि बढ्ने गरेको प्रहरीको तथ्यांकमा छ ।
यसका केही केस स्टडी पनि छन् ।
पत्नीले सँधैजसो झगडा गर्ने र राति सामाजिक सञ्जाल फेसबुक र प्राविधिक सूचनाको सरल साधन भाइबरमा लुकी–लुकी च्याट गर्न थालेपछि किर्तिपुरका एक युवा चिन्तित थिए । तीन वर्षको छोराकी आमा समेत रहेकी पत्नी अर्कै केटासँग सम्बन्धमा रहेको अड्कल काटेका उनी भित्रभित्रै पीडित थिए । यहि प्रमाणित गर्नका लागि उनी एकदिन, आमालाई भेट्न हेटौंडा जान्छु भनेर घरबाट केही दिनका लागि निस्किए । यता, पत्नीलाई पति दुई चार दिन नआउने भएपछि झन् खुसी थपियो ।
तर ती युवा आमा भेट्न नगई आमालाई बीचबाटोमा बोलाएर आमाकै मोबाइलबाट पत्नीलाई फोन गरे । सासुको मोबाइलबाट फोन आएपछि पति हेटौडा पुगेकोमा ढुक्क भइन् युवती । पति भने किर्तिपुर आसपासका होटलमा बसेर पत्नीको चियोचर्चो गर्न थाले । प्रहरी महिला सेलमा समेत जानकारी गराएका पतिले पत्नी अर्कै केटासँग चोभारको एक गेष्ट हाउसमा पुगेको जानकारी पाए । प्रहरीले पत्नीलाई अर्कै केटासँग रङ्गेहात समात्यो । ३ वर्षदेखि अवैध सम्बन्धमा रमाउँदै आएकी ती युवतीलाई अन्ततः अर्कै केटासँग समातेपछि उनको शंका पुष्टि मात्र भएन उनीहरुको सम्बन्धमा नै पूर्णविराम लाग्यो । उनीहरु ‘डिभोर्स’को चरणमा पुगे ।
आमाबाबु छुट्टिएसँगै ३ वर्षे बालकको भविष्य अन्यौलमा परेको छ । ती पुरुषस“ग ३ वर्षदेखि सम्पर्कमा रहेकी पत्नीको स्वार्थ यौन प्यास मेटाउनु मात्रै रहेको प्रहरी अनुसन्धानबाट खुल्यो ।
प्रहरीको सहयोगमा यस्ता सम्बन्ध र घटना निक्कै उजागर भएका छन् ।
महोत्तरीको डाम्हीमडैंका एक युवक ३ वर्षको वैदेशिक रोजगारीपछि पत्नीसँग सुखद जीवन विताउने सपनामा केहि साता अघि घर फर्किए । आर्थिक बाध्यताले मलेसिया गएका सुरेश मुखियाकी पत्नी घर आएपछि मुस्किलले एक महिनासँगै बसिन् । विदेशबाट आएको एक महिना नवित्दै पत्नी तेतरीले पतिलाई मात्र छाडिनन् विदेशबाट कमाएर ल्याएको नगद र गरगहनासमेत लिएर अर्कै पुरुषसँग झागिएको सम्बन्धलाई पूर्णता दिन घर छाडेर हिडिन् ।
विदेशबाट पैसा कमाएर ल्याएपछि पत्नीसँगको जीवन सुखद होला भन्ने सपना देखेका सुरेशस“ग न अहिले पत्नी तेतरी सँगै छिन् न उनको श्रमको कमाई नै ।
उल्टै ससुराली पक्षले तेतरीलाई वेपत्ता पारेको भन्दै तनाव दिन थालेका छन् । विवाह भएको एक वर्षपछि परिवारलाई सुख दिने र बहिनीको विवाह गर्ने पैसा कमाउन भन्दै उनी ५ वर्षअघि मलेसिया गएका थिए । अहिले उनको विजोग भएको छ । न बहिनीको विवाह धुमधामले गर्नसक्ने उनको आर्थिक हैसियत नै छ ।
यसरी फरक सम्बन्धलाई स्थापित गराउनका लागि लिभिङ टुगेदरको पनि साथ लिइने गरिएको कतिपय घटनाले देखाउने गरेका छन् ।
काभ्रेपलाञ्चोक महादेवस्थानमा ३ वर्षदेखि लिभिङटुगेदरमा बस्दै आएकी प्रेमिकालाई हत्या गरेको अभियोगमा प्रहरीले २८ वर्षिय श्याम श्रेष्ठलाई पक्राउ ग¥यो । प्रेमिका हत्यापछि फरार रहेका श्रेष्ठलाई प्रहरीले दाङको लमहीबाट पक्राउ गरेको थियो । नुवाकोट रातोमाटे–१ महादेवस्थान की १८ वर्षिय अन्जना थापाको हत्या गरेको अभियोगमा पक्राउ परेका श्रेष्ठ ३ वर्षदेखि उनीसँग लिभिङटुगेदरमा थिए ।
युवतीले विवाहको दबाब दिन थालेपछि सुरु भएको झगडा र मनमुटावमा आक्रोशित भएका श्रेष्ठले कुटपिट गरी गत वैशाख २१ गते युवतीको हत्या गरेका थिए । कक्षा १० मा नुवाकोटको विद्यालयमा पढ्दै गरेकी थापा र त्यही सवारी चालकका रुपमा काम गर्ने क्रममा श्रेष्ठसँग भेटघाट भएपछि उनीहरुबीच सम्बन्ध बढेको थियो । विवाहित श्रेष्ठले ढाटेर थापालाई विगत तीन वर्षदेखि भक्तपुरमा ल्याएर राखेका थिए ।
यी सबै विवाहपछिका सम्बन्धका रुपममा स्थापित फरक–फरक प्रतिनिधी घटना हुन् । विवाहपछि हुने गरेका यस्ता घटना सुरुमा रहर वा आकर्षण र यौन सुखका लागि हुने गरेको देखिन्छ । विस्तारै बढ्दै जाने यस्ता गोप्य सम्बन्धले परिवार, सन्तानको भविष्य, धनसम्पत्तीको नोक्सानी र मान प्रतिष्ठामा आ“च मात्र नभइ अपराधको बाटोमा पनि धकेलिन बाध्य तुल्याउँछ ।
सम्बन्धबारे परिभाषा गर्दै लागु भएको नयाँ देवानी कानुनमा पत्नीले परपुरुषसँग वा पतिले परस्त्रीसँग यौन सम्बन्ध राखे पतिपत्नीबीच सम्बन्ध विच्छेद गर्न सकिने व्यवस्था छ ।
त्यस्तै, पतिले पत्नीसँग जवरजस्ती करणी गरेमा समेत पत्नीले पतिसँग सम्बन्धविच्ेछद गर्नसक्ने प्रावधान देवानी कानुनमा प्रस्ताव गरिएको छ ।
पतिले जाँड रक्सीको मातमा पत्नीलाई दुख दिने र पत्नीकोे इच्छा नहुँदा नहुँदै पनि जबर्जस्ती यौन सम्पर्क गर्ने गरेका घटना बाहिर धेरै आउने गरेपछि त्यस्तो प्रावधानको व्यवस्था गरिएको सांसदहरूको भनाइ छ ।
सम्बन्ध विच्छेदसम्बन्धी सो व्यवस्थामा पतिले पत्नीको मञ्जुरीबिना पनि सम्बन्ध विच्छेद गर्नसक्ने चारवटा कारण उल्लेख गरिएको छ भने पत्नीका लागि सम्बन्ध विच्छेद गर्नसक्ने ६ वटा व्यवस्था प्रस्तावित छन् ।
पतिले तीन वर्षसम्म पत्नीसँग अलग बसेमा, पतिको अङ्गभङ्ग हुनेगरी कष्ट दिएमा वा जाल प्रपञ्च गरेमा तथा पत्नीले परपुरुषस“ग यौन सम्बन्ध राखेको ठहरेमा पतिले पत्नीस“ग सम्बन्ध विच्छेद गर्नसक्ने छ ।
सोहीअनुसार, पत्नीले पतिको मञ्जुरी नभए पनि सम्बन्ध विच्छेद गर्नसक्ने व्यवस्था गरिएको छ । जसमा पतिले पत्नीको मञ्जुरी नलिई लगातार तीन वर्ष अलग बसेमा, पतिले खान लाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, शारीरिक मानसिक यातना वा जाल प्रपञ्च गरेमा, पतिले अर्को विवाह गरेमा, पतिले अन्य स्त्रीसँग यौन सम्बन्ध राखेको ठहरेमा र पतिले पत्नीलाई जबर्जस्ती करणी गरेको ठहरेमा पत्नीले पतिस“ग सम्बन्ध विच्छेद गर्न चाहदा गर्नसक्ने व्यवस्था छ ।
सम्बन्ध विच्छेदसम्बन्धी सो व्यवस्थाले पतिपत्नीबीच राजीखुसीले कानुनी व्यवस्थाअनुसार सम्बन्ध विच्छेद गर्न तयार भएमा सोअघि अंशवण्डा गर्नुपर्ने व्यवस्था छ । सम्बन्ध विच्छेदका लागि प्रक्रियामा गएपछि अदालतले पहिलो चरणमा दुवैबीच मेलमिलापको प्रयास गर्ने, मेलमिलाप नभएमा कानुन वमोजिम हुने व्यवस्था गरिएको छ , दैनिक नेपाल बाट



