काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादी र युनिसेफका एसिया प्रशान्त क्षेत्रीय निर्देशक सन्जय विजेसेकेराबीच बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका क्षेत्रमा सहकार्य र साझेदारी गर्ने विषयमा छलफल भएको छ।
भेटका क्रममा मन्त्री बादीले दुर्गम, अति विपन्न, सीमान्तकृत तथा मानव विकास सूचकाङ्कमा पछाडि परेका क्षेत्रका बालबालिकाको समग्र विकासलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्न युनिसेफलाई आग्रह गरिन्।
उनले बालबालिकाको विकास र संरक्षण जन्मपछि मात्र नभई गर्भावस्थादेखि नै सुरु हुनुपर्नेमा जोड दिँदै विकास साझेदारहरूले सञ्चालन गर्ने कार्यक्रम गर्भावस्थादेखि बालबालिकाको समग्र विकास र संरक्षणमा केन्द्रित हुनुपर्ने बताइन्।
त्यसैगरी, वैकल्पिक स्याहारको आवश्यकता भएका तथा विशेष संरक्षण आवश्यक पर्ने बालबालिकाका लागि मन्त्रालयले तत्कालीन र दीर्घकालीन कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिँदै मन्त्री बादीले त्यसमा युनिसेफको सहयोग र साझेदारी आवश्यक रहेको उल्लेख गरिन्।
भेटमा युनिसेफका एसिया प्रशान्त क्षेत्रीय निर्देशक सन्जय विजेसेकेराले नेपालमा बालबालिकाको गैरकानुनी ओसारपसार तथा बाल हिंसा न्यूनीकरणका क्षेत्रमा सहकार्य गर्न युनिसेफ इच्छुक रहेको बताए।
उनले समुदायस्तरमा सामाजिक जनशक्तिको क्षमता विकास गर्नुका साथै बालबालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणका क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
भेटघाटमा युनिसेफका नेपाल प्रतिनिधि एलिस अकुङ्गा, बाल संरक्षण प्रमुख लियोन मुओनीलगायत प्रतिनिधिमण्डलका सदस्यहरूको उपस्थिति रहेको थियो।









