स्थानीय तह निर्वाचनमा पहिलो दलको रुपमा स्थापित भएको नेकपा एमालेले प्रदेश २ मा पनि एक्लै बहुमत स्थानमा जीत हासिल गर्ने तथ्यांकसहितको आन्तरिक प्रतिवेदन बनाएको छ ।

प्रदेश नम्बर २ मा पहिलो चरणको चुनावी अभियानमा पार्टी पदाधिकारीलाई खटाएको एमालेले प्रारम्भिक प्रतिवेदन तयार पार्दै प्रदेश २ को १२७ स्थानीय तहमध्ये ७४ स्थानमा जीत हासिल गर्ने निश्कर्ष निकालेको हो ।

प्रदेश–२ का ८ जिल्लामा खटेका पार्टी पदाधिकारी र स्थायी समिति सदस्यहरुको बैठकमा असोज २ गते हुने स्थानीय निर्वाचनको सम्भावित परिणाम सम्बन्धी प्रक्षेपण समेत प्रस्तुत भएको छ ।

पहिलो चरणमा प्रदेश नम्बर २ खटिनुभएका महासचिव ईश्वर पोखरेलको कमाण्डमा पदाधिकारी र स्थायी समिति सदस्यहरुले आफू खटेका जिल्लाको प्रारम्भिक रिपोर्ट बुझाउनु भएको छ ।

प्रदेश २ को चुनावको आवश्यक तयारी गर्न महासचिव पोखरेल बीरगञ्ज र धनुषा, उपमहासचिव विष्णु पौडेल बारा, घनश्याम भुसाल रौतहट, सचिव प्रदीप ज्ञवाली सिराहा, पृथ्वी सुब्बा गुरुङ महोत्तरी, योगेश भट्टराई धनुषा, गोकर्ण विष्ट सर्लाही र भीम आचार्य सप्तरी खटिनुभएको थियो । खटिएको जिल्लामा नेताहरुले भेला र भेटघाट चलाएर प्रारम्भिक सर्भेक्षण समेत गरेर फर्किनु भएको छ ।

अभियानका क्रममा उहाँहरुले कार्यकर्ता, स्थानीय सामाजिक अभियन्ताहरुसँग संवाद गरी स्थानीय समस्याहरुवारे छलफल गर्नु भएको थियो भने पार्टीका भेला र बैठकहरुमा सहभागि हुनु भएको थियो ।

आफू खटेका जिल्लाबाट प्रारम्भिक रिपोर्ट लिएर फर्केका एमाले नेताहरुले स्थायी समिति बैठकमा ती जिल्लाको सम्भावित चुनावी आकडा प्रस्तुत गर्नु भएको थियो । रिपोर्ट अनुसार एमालेले प्रदेश नम्बर २ को स्थानीय चुनावमा ६३ देखि ७४ स्थानीय तह जित्ने किटानी गरिएको छ ।

प्रदेश नम्बर २ मा सकेसम्म कांग्रेस बाहेकका दलसँग तालमेल गर्नु पर्ने पनि उहाँहरुले सुझाव प्रस्तुत गर्नुभएको छ । ८ वटै जिल्लाका १२७ वटै स्थानीय तहमा कुन दलसँग प्रतिस्पर्धा हुने भन्ने पनि आकडा एमाले नेताहरुले प्रस्तुत गर्नुभएको छ ।

धेरैजसो स्थानीय तहमा कांग्रेससँग प्रतिस्पर्धा, त्यो भन्दा कम तहमा राजपा र संघीय समाजवादी फोरम र केही तहमा माओवादीसँग पनि प्रतिस्पर्धा हुने देखिएको छ । तालमेलको नीति अपनाएर गए ७४ वटासम्म स्थानीय तह जित्न सकिने र आन्तरिक परिचालन ब्यवस्थित हुन सके विना तालमेल पनि ६३ वटा स्थानीय तह जित्ने एमालेको प्रारम्भिक मुल्यांकन गरिएको छ ।

यस बिषयमा सार्वजनिक भएपछि सत्तारुढ दल बिशेष गरेर माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाले पनि आफ्नो अवस्थाको बारे तत्काल रिर्पोट पठाउन निर्देशन गरेको बताईएको छ । एमालेलाइ पहिलो शक्ति हुनबाट कुनै पनि हालतमा रोक्नु पर्ने र यसका लागि जोसंग पनि एलायन्स गर्न सकिने दुबै पार्टीको ठहर रहेको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय