जिल्ला निर्वाचन कार्यालय गोरखाले प्रतिनिधिसभाको मतगणना २ ठाउँमा गर्ने तयारी गरेको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको गोरखामा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना २–२ ठाउँमा गर्ने तयारी गरेको हो ।

“प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना २–२ ठाउँमा र समानुपातिकतर्फको १–१ ठाउँमा गणना गर्ने तयारी गरिएको छ,” जिल्ला निर्वाचन अधिकृत वसन्तराज पौडेलले भने, “मतगणना स्थलमा तारजाली र सीसीटीभी जडान गर्ने काम सकियो । सर्वदलीय बैठक बसेर आचारसंहिता पनि बनाउने काम सम्पन्न भयो । भोलि साँझ ५ बजेबाट नै हामी मतगणना सुरु गर्छौं ।”

मतगणनाका लागि एक ठाउँमा ७ जनाका दरले गणक निर्वाचन आयोगको निर्देशिकाअनुसार खटिए पनि आवश्यकता परे थप गणकका लागि पनि कर्मचारी तयार रहेको पौडेलले जानकारी दिए ।

उनले निर्वाचन आयोगको निर्देशन भन्दा अगाडि नै मतगणना सक्ने योजना बनाएको समेत बताए । गोरखा– एकमा ९८ हजार ६२२ र दुईमा ९० हजार ८२६ मतदाता रहेका छन् ।
गोरखा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट चीनकाजी श्रेष्ठ र बाम गठबन्धनबाट हरिराज अधिकारी चुनावी प्रतिस्पर्धामा छन् ।

क्षेत्र नम्बर २ बाट बाम गठबन्धबाट नारायणकाजी श्रेष्ठ छन् भने उनलाई चुनौती दिने उमेदवारको रुपमा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई हेरिएको छ । डा. भट्टराईलाई नेपाली कांग्रेसले समर्थन गरेको छ । यो क्षेत्रलाई डा. भट्टराई र नाराणकाजी श्रेष्ठले आफ्नो प्रतिष्ठाको लडाइँ रहेको बताएका छन् । तत्कालीन नेकपा माओवादीमा यी दुबै नेताले सँंगै काम गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय