
काभ्रे २० फागुन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधन र निर्वाचनमा भाँजो हाल्ने दुवै शक्ति अतिवादी भएको टिप्पणी गरेका छन् ।
काभ्रेको कामीडाँडामा आयोजित सभामा शुक्रबार उनले संविधान संशोधन हुन नदिने र निर्वाचन हुन दिन्नौं भन्नेहरु एउटै हेडक्वार्टरबाट परिचालित भएको आरोप लगाए । भारतको नाम उल्लेख नगरी उनले एमाले अध्यक्ष केपी ओली र मधेसी मोर्चाका नेता उतैबाट परिचालित भएको संकेत गरे ।
एमालेले संविधान संशोधन प्रस्तावको विरोध गर्दै आएको छ भने मधेसी मोर्चाले ३१ वैशाखमा घोषित निर्वाचन कुनै हालतमा हुन नदिने चेतावनी दिँदै आएको छ । प्रधानमन्त्रीले जतिसुकै अवरोध भए पनि निर्वाचन नरोकिने अठोट व्यक्त गरे ।
‘संविधान संशोधन हुन दिन्न भन्ने र निर्वाचन हुन दिन्न भन्नेहरु कतै एउटै हेडक्वार्टरबाट त परिचालित भएका छैनन् रु’, उनले भने, ‘संघीयता नचाहने र मन नपराउनेहरु स्थानीय चुनावको विपक्षमा छन्, संविधानको जननी माओवादी हो, रगतसँग साटिएको संविधान कार्यान्वयन गर्ने जिम्मेवारी पनि माओवादीकै हो, त्यसैले स्थानीय चुनाव कुनै हालतमा रोकिँदैन ।’
प्रधानमन्त्रीले एक थरीले कुनै हालतमा संविधान संशोधन हुन नदिने र अर्कोथरि मानिसहरु चुनाव हुनै नदिने धम्की दिइरहेको भन्दै एउटा हिङ नभए खानै नबस्ने र अर्को हिङ भए भित्रै नपस्ने प्रवृत्तिका भएको टिप्पणी गरे ।
ती दुवै अतिवादी प्रवृत्ति भएको प्रधानमन्त्रीले बताए ।



