
२१ फागुन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीलाई नहेप्न र साह्रै धेरै नदेख्न चेतावनी दिएका छन् । उनले माओवादीलाई कमजोर ठानेर कमजोर पार्ने प्रयास र षड्यन्त्रले कुनै दल र नेता तथा राष्ट्रलाई हित नगर्ने दाबी गरेका छन् । माओवादी केन्द्र काभ्रेले शुक्रबार सहिद सप्ताहका अवसरमा कामीडाँडामा आयोजना गरेको कार्यक्रममा प्रचण्डले उक्त कुरा बताएका हुन् ।
‘१० वर्षे जनयुद्धपछिको १० वर्षको अवधिमा माओवादीले भोगेको कठीन चुनौतीबाट निराश भएको छैन’, उनले भने, ‘माओवादी सिध्याउने षड्यन्त्र भयो भने अर्को ठूलो जोखिम मोल्न तयार छौं, माओवादी जोखिम उठाउने जात नै हो त्यसका लागि तयार भएका छौं ।’
प्रधानमन्त्रीले ठूला मिडिया आफ्नो पक्षमा नरहेकाले ७ महिनामा भएका कामहरुको प्रचार हुन नसकेको दुखेको पोखे । ‘मिडियालाई समेत माओवादी ठूलो हुन्छ कि भन्ने चिन्ता छ’, उनले भने, ‘राष्ट्रिय गौरवका आयोजना, निार्वाचन घोषणा, लोडसेडिङ अन्त्यजस्ता काम भएका छन्, तर खै त माओवादले गरेका कामको प्रचार ?’
प्रधानमन्त्रीले एउटाले संविधान संशोधन हुनै नदिने र अर्को निर्वाचन हुन नदिने परिस्थितिका कारण निर्वाचन नहोला कि भन्ने आशंका पैदा भएकाले त्यसको भ्रममा नपर्न आग्रह गरे । उनले आफूलाई राति निद्रासमेत लाग्न छाडेको बताए । ‘आजभोलि मलाई राति निन्द्रा समेत लाग्न छाडेको छ ।
जसरी पनि निर्वाचन गराइछाड्ने मेरो अठोट पूरा गरेरै छाड्छु, म सहज अवस्थामा प्रधानमन्त्री भएको छैन, अप्ठ्यारो अवस्थामा भएकाले त्यसको चुनौती पार गर्छु’, प्रचण्डले भने ।
नेपाल समाचारपत्रबाट



