काठमाडौं- स्वास्थ्य मन्त्री गगन थापाले पोलियो कार्यक्रम अवरोध गर्ने स्वास्थ्यकर्मीलाई सम्पूर्ण माग पुरा हुँदा पनि किन अवरोध गरेको भन्ने प्रश्न गरेका छन् ।
बालबालिकाको अधिकार हनन गर्ने आन्दोलनरत स्वास्थ्यकर्मीलाई मन्त्री थापाले पोलियो कार्यक्रम रोक्ने अधिकार कसले दियो भन्ने प्रश्न समेत गरेका छन् ।
मन्त्री थापाले सामाजिक सञ्जाल फेसबुक र टुइटरबाट आफ्नो धारणा सार्वजनिक गर्दै पोलियो कार्यक्रम रोक्नु पाप भएको समेत बताएका छन् ।
यस्तो छ स्वास्थ्य मन्त्री थापाको प्रश्न
राष्ट्रिय पोलियो कार्यक्रम अबरोध गर्नेहरूलाई सोध्न चाहन्छु:
आन्दोलनरत कर्मचारीहरूका के के माग पुरा भएनन र यस्तो अवरोध गरियो?
स्वास्थ्यकर्मी जोसुकै होस, असन्तुष्टि मन्त्रालयसंग, मन्त्रीसंग वा जोसुकैसंग होस; स्वास्थ्य सेवालाई अबरुद्ध गर्ने, स्वास्थ्य संस्थामा ताला लगाउने, त्यसमाथि वालवालिकालाई पोलियो थोपा खुवाउन नदिने यो अधिकार कसले दियो? के यो पाप होईन? यो स्वास्थ्यकर्मीकै अपमान होइन?
कुनै पनि तर्कले यो हर्कतको औचित्य पुष्टी गर्न सक्छ? यो छुट कसैले पाउन सक्छ? सक्दैन।
हिजोदेखि शुरु भएको राष्ट्रिय पोलियो कार्यक्रम अन्तर्गत १५ जिल्लाका १६ लाख २८ हजार वालवालिकालाई पोलियो थोपा खुवाउने हाम्रो कार्यक्रम हो । यो कार्यक्रम जसरी पनि सम्पन्न हुन्छ र सफल पनि हुन्छ । यस अभियानलाई सफल वनाउन जिम्मेवार स्वास्थ्यकर्मी साथीहरू, महिला स्वयंसेविका लगायत सवै पक्षवाट सकृय सहयोग हुनेछ भन्ने अपेक्षा गरेको छु।
सरकारले प्रष्ट पारिसकेको छ-‘स्वास्थ्य लगायत अत्यावश्यक क्षेत्रमा हड्ताल, बन्द लगायतका कुनै पनि अवरोधजन्य कार्य नगर्नुहोस।’
जहाँसम्म ९(ख)को विषय छ: बर्षौदेखि कार्यन्वयन हुन नसकेको र यस अघि कसैले प्रयास समेत नगरेको उक्त दफा कार्यन्वयन गर्न र समस्या समाधानका लागि मैले मन्त्रालय समालेदेखि नै निरन्तर प्रयास गरेको छु । परिणाम यसको कार्यन्वयनका सन्दर्भमा मन्त्रिपरिषदले महत्वपुर्ण निर्णय गरिसकेको, सो अनुरुप कार्यन्वयन गर्न समिति वनि गृहकार्य गरिरहेको तथा ऐन संसोधनका सन्दर्भमा समेत समिति गठन भइ कार्य प्रारम्भ भइसकेको छ । यस सन्दर्भमा रचनात्मक सहयोगको लागि स्वास्थ्यकर्मी संघ संगठनसंग समेत पटक पटक छलफल भइरहेको छ ।
यसरी मन्त्रालयले लिएको अग्रसरताप्रति झन खुशी हुनुपर्नेमा ‘पोलियो कार्यक्रम नै अवरुद्ध गर्ने र स्वास्थ्यसंस्था तालाबन्दी गर्ने कार्य हुनु दु:खद छ । स्वास्थ्य मन्त्रालय कर्मचारीले उठाएका जायज मुद्दा संबोधन गर्न सदैव प्रतिबद्ध रहन्छ तर स्वास्थ्य सेवामा अवरोध गर्ने र जिम्मेवारी बहन नगर्नेहरुप्रति कारवाही गर्न पनि उत्तिकै प्रतिवद्ध छ।
स्वास्थ्य सेवालाई सुचारु राख्न र स्वास्थ्य सम्बन्धि बिशेष कार्यक्रमहरू सफल बनाउन सधै झै सवै पक्ष एवं आम जनताको साथ र सहयोग हुनेछ भन्ने विश्वास लिएको छु ।
गगनकुमार थापा
मन्त्री, स्वास्थ्य मन्त्रालय



