
दमक÷नेकपा एमालेको मेची महाकाली अभियानको क्रममा नेकपा एमाले १० लाख घरधुरीमा प्रत्यक्ष तथा अप्रत्यक्ष पुगेको, ५० लाख जनतामा एमालेको प्रचार पुगेको र ५० हजार अन्य पार्टीका नेता कार्यकर्ता एमलेमा प्रवेस गरेको जनाईएको छ । फागुन २१ गते सहिदहरूका प्रतिमामा माल्यार्पण र श्रद्धाञ्जली अर्पण गरेर विशेष कार्यक्रमका बीच यो अभियान झापाबाट शुरु भएको थियो ।
अभियानका क्रममा काँकरभिट्टा, बिर्तामोड, दमक, विराटचोक, इटहरी, इनरुवा, राजविराज, हेटौंडा, नारायणगढ, कावासोती, भूमही, भैरहवा, जीतपुर, लमही, नेपालगञ्ज, गुलरिया, राजापुर, टीकापुर, लम्की, धनगढी र महेन्द्रनगरमा विशाल जनसभाहरू भएको र उर्लाबारी, पथरी, बेलबारी, मनहरी, भण्डारा, रामापुर लगायत स्थानमा व्यापक जनसहभागिता सहितका सङ्क्षिप्त सभाहरू भएका एमालेले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अभियान सफल भएको उल्लेख गर्दै जारी गरेको बिज्ञप्तिमा भनिएको छ–अभियानको प्रचार–प्रसारका लागि झण्डै १० लाख घरधुरीमा पुगेर कार्यकर्ताहरूले ५० लाखभन्दा बढी जनतालाई पार्टीको अपिल वितरण गरेका छन् भने जनसभाहरूमा लाखौं जनताको सहभागिता प्रकट भएको छ । २५ किलोमिटरभन्दा लामा ¥यालीहरू, अभियान–टोलीको स्वागतार्थ सडकमा उभिएका हजारौं जनताको उत्साहपूर्ण सहभागिता र स्वागत, ‘एक घर एक घडा’ आह्वानलाई सार्थक तुल्याउँदै घर–घरमा स्थापित गरिएका जलका घडा, फूलमाला र झण्डा, विविध जातजाति र भाषाभाषी समुदायका मनोहर सांस्कृतिक झाँकीहरू तथा नेताहरूलाई आफ्नो घर–घरमा पाहुना बनाएर राख्न (होम स्टे) का लागि जनताको स्वतःस्फूर्त उत्साह यस अभियानका महत्वपूर्ण विशेषताका रूपमा रहेका छन् । अभियानको बीचमा झण्डै २५ हजार नेता÷कार्यकर्ताहरू विभिन्न पार्टी परित्याग गरेर नेकपा (एमाले) मा प्रवेश गरेका छन् । नेकपा (एमाले) को बढ्दो लोकप्रियतालाई पुष्टि भएको छ । अभियानमा सबै वर्ग, समुदाय र पेशाका जनताको व्यापक सहभागिता र विशेष गरेर महिला, युवा र प्रौढहरूको सक्रियताबाट पार्टीले थप प्रेरणा, उर्जा र शक्ति प्राप्त गरेको छ ।



