काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ को पूर्ण संघीय बजेट आज दिउँसो ल्याउँदै छ ।संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रिय सभा)को साँझ ४ बजे बस्ने संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । त्यसअघि दिउँसो २ बजे बस्ने राष्ट्रिय योजना आयोग र ३ बजे बस्ने मन्त्रिपरिषद बैठकबाट बजेट पारित गरिनेछ।
यस वर्ष सरकारले सार्वजनिक गर्ने बजेट दोस्रो पूर्ण संघीय बजेट हो । बजेटको सम्पूर्ण तयारी पूरा भएको अर्थ मन्त्रालयले जनाएको छ । करिब १६ खर्बकाे हाराहारीमा हुनेगरी बिनियोजन गरिएको यस वर्षको बजेटमा भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बताइएको छ । राष्ट्रिय योजना आयोगले भने अर्थ मन्त्रालयलाई करिब १५ खर्ब बराबरको बजेट ल्याउन सीमा तोकेको थियो ।
अघिल्लो पटकको बजेट पार्टीकाे घोषणापत्र अनुसारको नभएको भन्दै आलोचित भएका अर्थमन्त्री खतिवडाले यसपटक केही लोकप्रिय कार्यक्रम समेटेर बजेट ल्याउने तयारी गरेकाे बताइएकाे छ छन्। मन्त्रालय स्रोतका अनुसार बजेटमा कर्मचारीको तलब २० प्रतिशतसम्म वृद्धि गरिँदैछ। वृद्ध भत्ता एक हजार रुपैयाँसम्म बढाउने सरकारको तयारी छ।
स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रममार्फत् सांसदहरुलाई यसअघि दिइएको ४ करोडमा डेढ करोड थपेर साढे ५ करोड पुर्याइएको बताइएको छ। सांसदहरुले भने यसलाई बढाएर १० करोड पुर्याउनुपर्ने माग गर्दै आएका छन्।
नयाँ बजेटका लागि १० खर्ब हाराहारी राजश्व उठाउने लक्ष्य लिइएको छ। ३ खर्ब ६६ अर्ब रुपैयाँ बैदेशिक ऋण तथा अनुदान र २ खर्ब १० अर्ब आन्तरिक ऋणमार्फत स्रोत जुटाइने बताइएको छ।



