
झापा । वीरता जेसीजका पूर्व अध्यक्षहरुको समूहले २०५२ सालदेखि निरन्तर प्रदान गर्दै आएको उत्कृष्ट नागरिक सम्मान यो वर्ष कलाकार धुर्मुस–सुन्तलीलाई प्रदान गर्ने निर्णय गरेको छ ।
उत्कृष्ट नागरिक सम्मान समारोह २०७३ ले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी समाजसेवामा उत्कृष्ट योगदान गर्दै आएका कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई सम्मान गर्ने निर्णय भएको जानकारी दिएको हो ।
वीरता जेसीजका पूर्वअध्यक्ष तथा सम्मान समारोहका संयोजक बिनोद बस्नेतका अनुसार झापा गौराहदमा स्थायी घरभई कलाकारिता गर्दै आएका धुर्मुस र सुन्तलीले आफ्नो घर बेचेर गिराञ्चोकका भुकम्प पिडितको घर बनाइदिएको एवम् महोत्तरीको मुसहर बस्ती निर्माण गरी समाजसेवाको उदाहरणीय कार्य प्रस्तुत गरेकोले सम्मान गर्न लागिएको हो ।
आगामी २०७४ वैशाख ३ गते बिर्तामोडमा आयोजना गरिने, झापाका १४ वटै जेसीज शाखाको सहकार्य रहेको उत्कृष्ट नागरिक सम्मानका क्रममा कलाकार तथा समाजसेवी धुर्मुस सुन्तलीलाई कम्तीमा एउटा घर बनाउन पुग्ने रकम पनि प्रदान गरिने लक्ष्य रहेको जनाइएको छ ।
वीरता जेसीजका संस्थापक अध्यक्ष सिनेटर गोपालकुमार बस्नेतले नागरिकलाई असल बन्न प्रेरित गर्दै असल नागरिक बनाउने जेसीजको उद्देश्य पूरा गर्न समाजका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई हरेक वर्ष सम्मान गरिँदै आएको बताए ।

उनले भने, जेसीजभित्र राजनीति गर्नु हुन्न तर उत्कृष्ट नागरिक बन्न राजनीतिले छेक्दैन भन्ने अभिप्रायले सुरुमै तुरसा हेमरमलाई सम्मान गरिएको हो । सामाजिक, साहित्यिक, सांस्कृतिक, शिक्षालगायत क्षेत्रका उत्कृष्ट योगदान गर्ने व्यक्तिहरुलाई यसैगरी सम्मान गरिँदै आएको र निरन्तर गरिरहने उनले बताए ।
धुर्मुस सुन्तलीले सञ्चालन गरेको अभियानमा झापाबासीको पनि सहभागिता रहोस् र उनीहरुको कार्यले थप उर्जा प्राप्त गरोस् भनेर यहाँका उद्योगी, व्यापारी, व्यवसायी एवम् सर्वसाधारणले पनि उनीहरुलाई आफ्नै हातले सहयोग हस्तान्तरण गर्न सकिने व्यवस्था मिलाइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

यो वर्षको उत्कृष्ट नागरिक छनोट कार्यका लागि धुलाबारी जेसीजका पूर्व अध्यक्ष छविलाल खतिवडाको संयोजकत्वमा मोहन ओली र लक्ष्मण ढकाल सदस्य रहेको समिति बनाइएको थियो ।



