उम्मेदवार छनोटको गृहकार्य गर्दै एमाले

प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तह निर्वाचनको तयारीलाई तीव्रता दिँदै उम्मेदवार छनोटको मापदण्ड र कार्यविधि बनाएको छ । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका र वडाहरूमा पार्टीको तर्फबाट छनोट गरिने उम्मेदवारका लागि उसले सातबुँदे मापदण्ड र तीनबुँदे कार्यविधि बनाएको छ । सोमबारसम्म ती मापदण्डका आधारमा उम्मेदवार छनोटको काम सुरु गर्न देशभर सर्कुलर पठाइने महासचि ईश्वर पोखरेलले जानकारी दिए । चैतको तेस्रो सातादेखि अन्तिम सातासम्म देशैभर उम्मेदवार छनोट सक्ने गरी एमालेले स्थायी समितिबाट मापदण्ड र कार्यविधि बनाएको छ ।

यसरी छानिँदै छन् उम्मेदवार
गाउँपालिका अध्यक्ष र नगरपालिका प्रमुख प्रदेशबाट
एमालेले गाउँ, नगर, उपमहानगरको वडाध्यक्ष र सदस्य गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका कमिटीको सिफारिसमा जिल्ला कमिटीले छान्ने तयारी गरेको छ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुखको सिफारिस सम्बन्धित कमिटी तथा जिल्ला कमिटीको सुझाबमा प्रदेश संगठन कमिटीले छान्ने निर्णय गरेको सचिव तथा संगठन विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए । नयाँपत्रिकामा खबर छ ।

उपमहानगर र महानगरको मेयर केन्द्रले छान्ने
स्थायी समितिले उपमहानगरपालिका र महानगरपालिकाको मेयर र उपमेयर भने पार्टी केन्द्रीय कमिटीले छान्ने निर्णय गरेको छ । ‘जिल्ला कमिटीको सिफारिस र प्रदेशसमेतको राय लिएर केन्द्रीय कमिटीको निर्णयमा महानगर र उपमहानगरको मेयर र उपमेयर छानिनेछन्,’ सचिव तथा संगठन विभागका प्रमुख गुरुङले नयाँ पत्रिकासँग भने ।

स्थानीय आवश्यकताअनुसार चुनावी तालमेलको योजना
एमाले स्थायी समितिले केन्द्रको प्रत्यक्ष निर्देशनमा निर्वाचनमा अन्य राजनीतिक दलसँग तालमेल गर्ने नीति र योजना पारित गरेको छ । ‘सम्बन्धित स्थानको राजनीतिक शक्ति सन्तुलन, पार्टीको सामथ्र्य र सम्भाव्य परिणामलाई ध्यान दिँदै अन्य राजनीतिक दलसँग आवश्यकताअनुसार तालमेल र समन्वयको पहल गर्नेछ । तर, त्यसका लागि केन्द्रको निर्देशन पालना गर्नुपर्नेछ,’ एमालेको चुनावी तालमेलसम्बन्धी नीति र योजनामा भनिएको छ ।

बागी उठ्नेलाई आजीवन कारबाही
एमालेले पार्टी निर्णयलाई चुनौती दिएर बागी उम्मेदवार बन्नेमाथि कडाइका साथ अनुशासनको कारबाही गर्ने नीतिसमेत पारित गरेको छ । पार्टीले निर्णय गरेको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने, प्रस्तावक र समर्थक बस्नेलाई पार्टीको आन्तरिक निर्वाचन र सार्वजनिक प्रकृतिका निर्वाचनमा भाग लिन नपाउने गरी कारबाही गर्ने नीति पारित गरिएको सचिव गुरुङले बताए । उनका अनुसार त्यस्ता व्यक्तिलाई सम्बन्धित कमिटीका साथै आवश्यकताअनुसार केन्द्रीय कमिटीले तत्काल कारबाही गरी पाँच वर्षसम्म पार्टी सदस्यबाटै निलम्बन गर्नेछ भने आजीवन पार्टीको आन्तरिक र सार्वजनिक चुनावमा उठ्न दिइनेछैन ।

मूल नारा र निर्वाचन घोषणापत्रको गृहकार्य
एमालेले मूल नारा र निर्वाचनको घोषणापत्रको तयारीलाई पनि तीव्रता दिइरहेको प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिए । ‘नयाँ पुनर्संरचनाअनुसार पार्टी कमिटी पुनर्गठन गर्न सर्कुलर पठाइसकिएको छ, स्थायी समितिले निर्वाचन घोषणापत्र पनि गृहकार्य गरिरहेको छ,’ रिजालले भने, ‘केही दिनमै मूल नारा र घोषणापत्र पनि सार्वजनिक गर्छौँ ।’ मेची–महाकाली अभियानमार्फत चुनावी घोषणापत्र र उम्मेदवार छनोटको गृहकार्यबारे समेत सुझाब लिएको एमालेले सातवटै प्रदेश संगठन कमिटीलाई पनि घोषणापत्रका लागि सुझाब पठाउन निर्देशन दिइसकेको छ ।

केन्द्रमा परिचालन समिति, गाउँ–नगरमा मतदाता शिक्षा
एमालेले केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा निर्वाचन परिचालन कमिटी बनाएर चुनावी अभियानलाई तीव्रता दिन मतदाता शिक्षा अभियान चलाउने तयारी गरेको छ । कतिपय प्रदेश कमिटी र जिल्ला कमिटीले निर्वाचन परिचालन कमिटी नै बनाएर अभियान सुरु गरिसकेको महासचिव पोखरेलले जानकारी दिए । त्यस्तै, आर्थिक परिचालन, धाँधली रोक्न स्वयंसेवक, मतदाता परिचयपत्र अद्यावधिक, निर्वाचन आचारसंहिता पालनका सम्बन्धमा निर्वाचन आयोग र प्रशासनसँग समन्वयका लागि आवश्यकताअनुसार उपसमितिहरू पनि बनाइने जनाइएको छ ।

आज स्थायी समिति बैठक
एमालेले चुनावी तयारीकै सिलसिलामा आइतबार (आज) स्थायी समिति बैठक बोलाएको छ । निर्वाचन घोषणापत्रलगायतका विषयमा थप छलफलका लागि बैठक बोलाइएको एमालेले जनाएको छ । ‘छुट्टै टिममार्फत घोषणापत्रलाई केही दिनमा अन्तिम रूप दिन्छौँ,’ महासचिव पोखरेलले भने ।

उम्मेदवार छान्न सातबुँदे मापदण्ड
-वरिष्ठता, पार्टीप्रति प्रतिबद्ध, निष्ठावान् र अनुशासित
-असल आचरणयुक्त र भ्रष्टाचार, नैतिक पतन देखिने काममा संलग्न नभएको र सार्वजनिक प्रतिष्ठामा आँच पुग्ने काममा संलग्न नभएको
-जनतामाझ परिचित र लोकप्रिय
-जनसेवी, घुलमिल, सामाजिक सेवाका काममा सकारात्मक भूमिका खेल्न सक्ने
-निर्वाचनमा विजयका लागि सर्वाधिक अनुकूल व्यक्ति
-स्थानीय विकासमा रुचि राख्ने र सही दृष्टिकोण प्रस्तुत गर्न सक्ने
-समावेशितालाई ध्यानमा राख्ने

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah