
व्यवस्थापिका संसद्को सबै भन्दा ठूलो दल नेपाली कांग्रेसले यही वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनमा जुट्न सबै राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।
‘सरकारबाट स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको छ,’ केन्द्रीय कार्यसमिति बैठकको निर्णय सार्वजनिक गर्दै कांग्रेसले भनेको छ,’ ‘स्थानीय तहको निर्वाचनप्रति आमरुपमा नागरिक अभिरुचि, जागरुकता एवं संलग्नता रहेको छ । २०७४ साल वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुनका लागि नेपाली कांग्रेस सम्पूर्ण राजनीतिक दलहरुलाई अपिल गर्दछ ।’
त्यसैगरी कांग्रेसले निर्वाचनको वातावरण निर्माण गर्न सरकारसँग पनि माग गरेको छ । ‘निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आवश्यक वातावरण बनाउन सरकारलाई नेपाली कांग्रेस आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो निर्वाचनको तयारीमा जुट्नका लागि पार्टीका सम्पूर्ण तहका साथीहरु तथा शुभेच्छुकहरुलाई आव्हान गर्दछौँ । साथै, यो निर्वाचनका सबै चरणमा देशभरका सम्पूर्ण वालिग नागरिकहरुलाई उत्साहका साथ सहभागी हुन हार्दिक अपिल गर्दछ ।’
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको तीन दिन बसेको बैठकले संसदमा प्रस्तावित संविधान संशोधन विधेयक संसदमा रहेका सबै दलको यथासक्य सहमतिमा पारित गर्न नेपाली कांग्रेसले अग्रसरता लिने निर्णय पनि गरेको छ । ‘यसका लागि नेपाली कांग्रेस संसदमा रहेका सम्पूर्ण दलहरुसँगको सम्वादलाई तीव्र र सार्थक बनाउन पहलकदमी लिने निर्णय गर्दछ,’ बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
त्यसैगरी कांग्रेसले स्थानीय तह निर्वाचनका लागि पार्टीको तर्फबाट सम्वन्धित तहमा पार्टी संगठन परिचालन गर्ने रणनीति यस्तो बनाएको छः
१) नेपाली कांग्रेसको तेह्रौ महाधिवेशनबाट गठित विद्यमान पार्टी संरचना कायम रहनेछन । विद्यमान संरचना मार्फत जनस्तर (टोल स्तर) सम्म संगठन विस्तार गरि निरन्तर परिचालन गरिनेछ ।
२. आसन्न स्थानीय तहको निर्वाचन प्रयोजनकालागि नेपालको संविधान बमोजिम हाल गठन भएका गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा निम्न प्रकार समन्वय समिति गठन गर्नेः–
(क) गाउँपालिका र नयाँ गठन भएको नगरपालिकाको केन्द्र रहेको गाउँ इकाइ सभापतिलाई संयोजक र अन्य इकाई सभापतिहरुलाई सह–संयोजक र सबै इकाइ कार्यसमितिका आजका मितिसम्म कायम रहेका सबै पदाधिकारीहरुलाई गाउँपालिका समन्वय समितिको सदस्य कायम गर्ने । एक वा एक भन्दा वढि वडा गाभिएर कायम भएको वार्डको हकमा पनि यसै अनुरुप गर्ने ।
(ख) नगरपालिका÷ उपमहानगरपालिका विस्तार भई नगरपालिका÷ उपमहानगरपालिका÷ महानगरपालिका गठन भएकोमा नगरका सभापतिलाई संयोजक र अन्य इकाई सभापतिहरुलाई सह–संयोजक र सबै इकाइ कार्यसमितिका आजका मितिसम्म कायम रहेका सबै पदाधिकारीहरुलाई नगरपालिका÷ उपमहानगरपालिका÷महानगरपालिका समन्वय समितिको सदस्य कायम गर्ने ।
स्थानीय तहको उम्मेदवार तय गर्नेलगायतका १० महत्वपूर्ण निर्णय यस्ता छन् ।
१) .(क) एकै निर्वाचन क्षेत्र अन्तर्गत गाउँ कार्यपालिका, नगर कार्यपालिकाको निर्वाचनमा पार्टीको तर्फबाट गाउँपालिका, नगरपालिका प्रमुख÷उपप्रमुख र वडा अध्यक्ष÷सदस्यहरु, यस क्षेत्र अन्तर्गत पर्ने महानगर, उपमहानगरका वडा अध्यक्ष÷सदस्यहरुको उम्मेदवारको नाम सम्वन्धित गाउँ, नगर, उपमहानगर वडा, महानगर वडा समन्वय समितिको सिफारिसको आधारमा सम्वन्धित क्षेत्रमा रहेका पार्टीका केन्द्रीय सदस्य, सम्वन्धित क्षेत्रका सांसद, दोस्रो संविधानसभाका प्रत्यक्ष तर्फका उम्मेदवार, क्षेत्रीय सभापतिको पदमा निर्वाचन भएको भए निकटतम प्रतिश्पर्धी समेतको उपस्थितिमा भएको क्षेत्रीय कार्यसमितिको बैठकले सर्वसम्मत निर्णय गर्नेछ ।
(ख) उल्लेखित क्षेत्रीय कार्यसमितिको बैठकबाट सर्वसम्मत निर्णय हुन नसकेको खण्डमा सम्वन्धित क्षेत्रका आजका मिति सम्म कायम रहेका क्षेत्रीय पदाधिकारीहरु, सम्वन्धित क्षेत्रमा रहेका पार्टीका केन्द्रीय सदस्य, सासंद, दोस्रो संविधानसभाका प्रत्यक्ष तर्फका सांसद उम्मेदवार, क्षेत्रीय सभापतिको पदमा निर्वाचन भएको भए निकटतम प्रतिश्पर्धी रहेको छनोट समितिले सहमती जुटाई उम्मेदवारको चयन गर्नेछ । सम्बन्धित जिल्लाका जिल्ला सभापति जिल्लाको आफ्नो निर्वाचन क्षेत्रको छनौट समितिमा रहनेछ । छनौट समितिको आयोजना र बैठकको अध्यक्षता क्षेत्रीय सभापतिले गर्नेछ ।
(ग) यसरी चयन भएको उम्मेदवारहरुको जानकारी तत्काल जिल्लालाई पठाउनु पर्नेछ ।
२. (क) दुई वा दुई भन्दा वढि क्षेत्रीय कार्यसमितिले सिफारिस गर्नु पर्ने अवस्थामा सम्वन्धित क्षेत्रमा रहेका पार्टीका केन्द्रीय सदस्य, सम्वन्धित क्षेत्रका सांसद, दोस्रो संविधानसभाका प्रत्यक्ष तर्फका उम्मेदवार, क्षेत्रीय सभापतिको पदमा निर्वाचन भएको भए निकटतम प्रतिश्पर्धी समेतको उपस्थितिमा भएको क्षेत्रीय कार्यसमितिको संयुक्त बैठकले सिफारिश गर्नेछ । उक्त बैठकको अध्यक्षता गाउँपालिका÷ नगरपालिका÷ उपमहानगरपालिका÷ महानगरपालिकाका वढी संख्यामा इकाईहरु रहेको क्षेत्रीय सभापतिले गर्नेछ ।
(ख) दुई वा दुई भन्दा बढी निर्वाचन क्षेत्रमा पर्ने गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका प्रमुख, उपप्रमुखहरुको निर्वाचनमा उम्मेदवारको चयन २ (क) मा उल्लेख भए बमोजिम सम्बन्धित क्षेत्रहरुको संयुक्त सिफारिशको आधारमा केन्द्रीय सदस्य, जिल्ला सभापतिको पदको निर्वाचनमा निकटतम प्रतिस्पर्धी, सम्बन्धित क्षेत्रका क्षेत्रीय सभापतिहरु, सांसद, दोस्रो संविधानसभाका प्रत्यक्ष तर्फका उम्मेदवार समेतको उपस्थितिमा भएको जिल्ला कार्यसमितिको बैठकले सर्वसम्मत निर्णय गर्नेछ ।
(ग) उल्लेखित जिल्ला कार्यसमितिको बैठकबाट सर्वसम्मत निर्णय हुन नसकेको खण्डमा जिल्ला कार्यसमितिका आजका मिति सम्म कायम रहेका पदाधिकारीहरु, पार्टीका केन्द्रीय सदस्य, जिल्ला सभापतिको पदमा निर्वाचन भएको भए निकटतम प्रतिश्पर्धी, सम्वन्धित क्षेत्रका सांसद, सम्वन्धित क्षेत्रका दोस्रो संविधानसभाका प्रत्यक्ष तर्फका सांसद उम्मेदवार रहेको छनोट समितिले सहमति जुटाई उम्मेदवारको चयन गर्नेछ । समितिको बैठकको आयोजना र अध्यक्षता जिल्ला सभापतिले गर्नेछ ।
(घ) आ–आफ्नो निर्वाचन क्षेत्रमा पर्ने वडाहरुको वडा अध्यक्ष र सदस्यहरुको उम्मेदवारको छनोट गर्दा भने १ (क) र १ (ख) मा उल्लेखित भए अनुसारकै संयन्त्र र विधिबाट हुनेछ ।
३. जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र सदस्यहरुको चयन सम्बन्धित जिल्लाका केन्द्रीय सदस्य, जिल्ला सभापतिको पदको निर्वाचनमा निकटतम प्रतिश्पर्धी, दोस्रो संविधानसभाका प्रत्यक्ष तर्फका उम्मेदवार समेतको उपस्थितिमा भएको जिल्ला कार्यसमितिको बैठकबाट सर्वसम्मत निर्णय गर्नेछ । उल्लेखित जिल्ला कार्यसमितिको बैठकबाट सर्वसम्मत निर्णय हुन नसकेको खण्डमा जिल्ला कार्यसमितिका आजका मिति सम्म कायम रहेका पदाधिकारीहरु, सम्बन्धित जिल्लाका पार्टीका केन्द्रीय सदस्य, जिल्ला सभापतिको पदमा निर्वाचन भएको भए निकटतम प्रतिश्पर्धी, सम्वन्धित क्षेत्रका सासंद, सम्वन्धित क्षेत्रका दोस्रो संविधानसभाका प्रत्यक्ष तर्फका सासंद उम्मेदवार रहेको छनोट समितिले सहमति जुटाई उम्मेदवारको चयन गर्नेछ । समितिको बैठकको आयोजना र अध्यक्षता जिल्ला सभापतिले गर्नेछ ।
४. माथि (१) र (२) मा उल्लेखित प्रक्रियाबाट उम्मेदवार चयन गर्ने कार्य २०७४ वैशाख ७ गतेभित्र सम्पन्न गरी केन्द्रीय कार्यालयलाई तत्कालै जानकारी गराउनु पर्नेछ । उम्मेदवारको मनोनयन पत्रमा हस्ताक्षर जिल्ला सभापतिले गर्नु पर्नेछ ।
५.२०७० साल वैशाख १२ र २९ को महाभूकम्पबाट प्रभावितलाई उपलव्ध गराउन निश्चित गरिएको राहत अझै पूर्ण रुपमा कतिपय नागरिकले पाउन नसकेको तर्फ गम्भिर ध्यानाकर्षण भएको छ । भूकम्प पीडित परिचय पत्र पाइसकेका तर पछि नाम छुटि गुनासो फारम भरेका भूकम्प पीडितहरुलाई समेत समावेश गरी राहतको सम्पूर्ण किस्ता तथा बाँकीहरुलाई अविलम्व राहतको बाँकी किस्ता उपलव्ध गराउन यो बैठक जोडदार माग गर्दछ । साथै, नेपाल सरकारले बाढी, पहिरो पीडितहरुलाई भूकम्प प्रभावित सरह राहत दिने भनेर निर्णय गरेको घर जग्गा अनुदान अविलम्व उपलव्ध गराउन सरकारसंग जोडदार माग गर्दछ ।
६. नेपालको संविधानले संवैधानिक सर्वोच्चता र बहुदलीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संसदीय शासन प्रणाली र शक्ति पृथकीकरणको सिद्धान्तलाई स्वीकार गर्दै कार्यकारिणी अधिकारको स्पष्ट व्यवस्था गरेको भएतापनि प्रहरी प्रमुख नियुक्ति सम्वन्धमा सर्वोच्च अदालतले हालसालै गरेको निर्णयले कार्यकारिणी अधिकार क्षेत्रमा हस्तक्षेप भएको नेपाली कांग्रेस महशुस गर्दछ ।
७) मुलुकमा नयाँ संविधानको घोषणा भई लागु भइसकेको तथा स्थानीय तहको नयाँ संरचनाको समेत गठन भई सकेको वर्तमान अवस्थामा नेपालको संविधान तथा स्थानीय तह निर्वाचन ऐन २०७३, स्थानीय तह निर्वाचन नियमावली २०७३ ले गरेको स्थानीय तहको पुर्नसंरचना व्यवस्थाका प्रावधान अनुकुल बनाई पार्टीको साधारण सदस्यता, क्रियाशील सदस्यता वितरण गरिनेछ ।
८) नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन र परिमार्जन गरी मिलाइएको रुपमा) को धारा ३३ अनुरुप अनुशासन समितिको संयोजकमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य गोपालमान श्रेष्ठलाई चयन गरेको छ ।
९) नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन र परिमार्जन गरी मिलाइएको रुपमा) को धारा ३८ अनुरुप लेखापरिक्षण समितिको संयोजकमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य चित्रलेखा यादवलाई चयन गरेको छ ।
१०. मिति २०७३ साल फागुन २६ गते कञ्चनपुर जिल्ला पुर्नवास नगरपालिका वडा नं. ८ आनन्दबजार नजिक नेपाल–भारत सिमानामा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट एक स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुकको नागरिक गोविन्द गौतमको मृत्यु भएको दुःखद घटनालाई नेपाली कांग्रेसले गम्भीर रुपमा लिएको छ ।
नेपाल–भारतका दुवै स्थानीय अधिकारीहरुको सहमति बमोजिम निर्माण भएको कल्भर्ट भारतीय पक्षले भत्काएपछि उत्पन्न विवादमा गोली प्रहार हुनु अत्यन्त दुःखद, खेदजनक र दुर्भाग्यपूर्ण घटना हो । यो घटनाको सम्बन्धमा भारतको उच्च कुटनीतिक तहमा पहल गरी घटनाको यथार्थ छानविन गरी दोषी माथि कार्वाही अगाडि बढाउन, मृतकका परिवारलाई क्षतिपूर्ति दिन, घाइतेहरुको निःशुल्क उपचारको वन्दोवस्त गर्न नेपाल सरकारसँग माग गर्दछ ।
यस घटनामा ज्यान गुमाएका गोविन्द गौतमको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछ र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।



