
१६ चैत । सप्तरी घटनापछि तराई–मधेसबाट नेकपा (एमाले) भाग्यो भन्ने आरोप लागि रहेका बेला प्रदेश नम्बर दुई कै बर्दिबासमा एमालेले बुधवारबाट ‘दुई नम्बर प्रदेश स्तरीय भेला’ धुमधामसँग सुरु गरेको छ ।
एमाले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र महासचिव ईश्वर पोख्रेल बुधबार संयुक्तरुपमा भेलाको उद्घाटन गरेको एमाले नेता वंशीधर मिश्रले पहिलो न्युजलाई जानकारी दिए । ‘भेलामा सप्तरीदेखि पर्सासम्मका आठ जिल्लाका करिब १५ सय अगुवा कार्यकर्ता भेला भएका छन्,’ उनले भने, ‘बन्दशत्र बुधबारबाटै सुरु भयो । आठ वटा जिल्ला जिल्लाका अध्यक्षले पछिल्लो राजनीतिक अवस्था, तराईमा एमालेको अवस्था, तराईमा एमालेको संगठन, आगामी चुनावलगायतका विषयसँग सम्वन्धित प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । अब बिहीबारबाट छलफल सुरु हुन्छ ।’
मधेसी जनता देशभक्त छन्
उद्घाटन शत्रलाई सम्वोधन गर्दै एमाले वरिष्ठ नेता खनालले मधेसी जनता देशभक्त भएको भन्दै त्यसको प्रमाण तिलाठीमा देखाएको दाबी गरे । ‘मधेसमा एमालेको अवस्था मधेसी मोर्चाले भने जस्तो होइन,’ सम्वोधनका क्रममा खनालले भने, ‘संशोधन प्रस्ताव मधेसी जनताको हितमा छैन, यो उनीहरुले चाहेका पनि छैनन्। केही मेधसी मोर्चाका नेताको लहडमा यो आएको हो ।’
उनले एमाले र मधेसी जनता एक–अर्काका पुरक भएको भन्दै अहिलेको मोर्चाका गतिविधि ठीक नभएको दाबी गरे । ‘मधेसमा अब पनि एमाले एक नम्बर पार्टी हुन्छ,’ उनले भने ।
नेपाल र पोख्रेलको सम्वोधन भोलि
वरिष्ठ नेता नेपाल र महासचिव पोख्रेलले बिहीबारको बन्दशत्रमा सम्वोधन गर्ने कार्यक्रम रहेको पनि मिश्रले जानकारी दिए । प्रमुख अतिथिका रुपमा पार्टी अध्यक्ष केपी शर्मा ओली जाने कार्यक्रम भए पनि उनी अन्तिम समयमा नजाने भएपछि खनाल प्रमुख अतिथि बनेका छन् ।
अबरोध कतै छैन
तराईमा एमालेले कुनै पनि कार्यक्रम गर्न सक्दैन भन्ने हल्ला फैलाए पनि बर्दिबासमा एमालेले गरेको कार्यक्रममा मधेसी मोर्चाका कार्यकर्ताले कतै पनि अवरोध गर्ने आँट गरेनन् । ‘अहिले हामी राजमार्ग भन्दा १५ किलोमिटर भित्र छौँ,’ मिश्रले भने, ‘यहाँ पनि कुनै प्रभाव छैन ।’ कार्यक्रममा सहभागी हुन आउने क्रममा जनकुपर, धनुषाका एमाले नेता–कार्यकर्ताहरुलाई सामान्य अवरोध गर्न खोजे पनि त्यस्तो केही नभएको एमालेले जानकारी दिएको छ । सप्तरीबाट पनि कार्यक्रममा सहभागी हुन नेता–कार्यकर्ता बर्दिबास आएको मिश्रले जानकारी दिए ।
दुई सय बढी एमाले प्रवेश
बर्दिबास भेलामा दुई बढीले एमाले प्रवेश गरेको पनि एमालेले जानकारी दिएको छ । भेलामा कांग्रेस, माओवादी र मधेसी मोर्चा परित्याग गरी एमाले प्रवेश गरेका हुन् । प्रवेशीहरुलाई नेताहरुले टिका लगाएर स्वागत गरेका थिए ।



