काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एउटै विद्यार्थीलाई अंक थपेर तीन विषयमा स्नातकोत्तरको डिग्री दिएको स्वीकार गरेको छ । तर, यो संस्थागत नभई व्यक्तिगत त्रुटि भएको त्रिवि पदाधिकारीले तर्क गरेका छन् ।९ अंक ल्याएका सुरेन्द्र कोइरालालाई ६० नम्बर थपेर तीन विषयमा स्नातकोत्तरको डिग्री दिएको स्वीकार गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यार्थीसँगै मानविकी संकायको गोप्य शाखाका कर्मचारी रामबहादुर कर्मचार्यलाई पक्राउ गरेको छ । यसबारे अख्तियारले अनुसन्धान गरिरहेका बेला मंगलबार संसद्को शिक्षा तथा स्वास्थ्य समितिले त्रिवि पदाधिकारीलाई छलफलमा बोलायो । बैठकमा त्रिवि रजिस्ट्रार डिल्लीराम उप्रेतीले ९ अंक ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेको स्वीकार गरे ।

रजिस्ट्रार उप्रेतीले बैठकमा भने, ‘९ नम्बर ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेर पास गर्ने त्रुटि भएको छ । तर, ती विद्यार्थीले गोल्डमेडल नै प्राप्त गरेको भन्नेमा सत्यता छैन । कोइरालाले समाजशास्त्र, अर्थशास्त्र र ग्रामीण विकास विषयमा स्नातकोत्तर डिग्री लिएका छन् । तर, प्रत्येक विषयमा पाँचदेखि ६० नम्बरसम्म थपेको पाइएको छ । कोइरालाले राजनीतिक शास्त्रमा पनि स्नातकोत्तर डिग्री लिएका छन् । त्यसमा भने उनले पाएको नम्बर मिलेको देखिएको रजिस्ट्रार उप्रेतीले जानकारी दिए ।

तीनवटा फ्याकल्टीअन्तर्गत झन्डै दर्जन विषयमा कोइरालाको नम्बर ‘म्यानिपुलेट’ भएको उप्रेती बताए । ‘अख्तियारले छानबिन गरिरहेकाले सबै विषय खोल्न मिल्दैन । तर, आन्तरिक रिपोर्टअनुसार इकोनोमिक्समा करिब ६ वटा विषयमा फेरबदल गरिएको छ । सोसोलोजी र रुलर डेभलपमेन्टअन्तर्गतका पनि दुई वा तीन विषयमा फेरबदल गरिएको छ । मैले त्यसका विषयचाहिँ भन्न मिल्दैन’, बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने ।उनले सबै विषयमा उस्तै प्रकारले नम्बर नथपिएको बरु विविध तरिका अपनाइएको बताए । उनले भने, ‘तीनवटै विषयमा त्यसैगरी नम्बर थपिएको होइन । एउटामा ५ लाई ५९ बनाइएको छ । अरू दुई विषयमा ५-१०, ५-१० नम्बर थपिएको देखिन्छ ।’ याे खबर आजकाे राजधानी दैनिकमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय