११ असोज, धादिङ । धादिङको उत्तरी क्षेत्रको मार्पाक गाविसमा यात्रुबस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । घाइतेमध्ये ६ जनालार्इ उपचारका लागि काठमाडाैं ल्याइएको छ ।
सदरमुकाम धादिङवेसीबाट दार्खा गाविसको किन्ताङफेदी जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको बस मार्पाक गविसस्थित लापाङ चौतारा नजिकै सडकबाट करीव ५०० मिटर तल खसेको थियो ।
दुर्घटनामा अहिलेसम्म १७ जनाको मृत्यु भएको धादिङका एसपी शरद खत्रीले जानकारी दिएका छन् । मृतकमध्ये पुरूष १३ र महिला ४ जना रहेको उनले बताए । मृतकको सनाखत हुन सकेको छैन ।
अनलाइनखवरसँग कुरा गर्दै एसपी खत्रीले दुर्घटनामा गम्भीर घाइते भएकामध्ये ६ जनालार्इ डाइनेष्टिक एयरको हेलिकप्टरबाट उद्दार गरी काठमाडाैं पठाइएको जानकारी दिए ।
गम्भीर घाइते रहेका अन्य दुर्इ जनालार्इ लिन नेपाली सेनाको हेलिकप्टर पठाइएको उनले जनाए ।
एसपी खत्रीले भने, ‘बस २७ जना लिएर सदरमुकामबाट छुटेको रहेछ, बाटाेमा केहि यात्रु थपिएको हुनसक्छ ।’
दुर्घटनास्थलमा अहिले शव संकलन कार्य भइरहेको छ ।
मंगलबार बिहान ७ बजे धादिङबेसीबाट छुटेको बस बिहान साढे ११ बजे दुर्घटनामा परेकाे प्रहरीले जनाएको छ ।
कच्ची बाटो र क्षमताभन्दा बढी यात्रुका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ ।
उद्धारमा खटिएका स्थानीयका अनुसार मृतकको संख्या अझै बढ्नसक्ने छ । दुर्घटनास्थलमा केहिबेर अघिमात्र प्रहरी पुगेको थियो ।



