नेकपा (एमाले) स्थायी समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दिएको अभिब्यक्तिप्रति कडा आपत्ती जनाएको छ । सोमबार कार्यबाहक अध्यक्ष कमरेड वामदेव गौतमको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले संविधान संशोधन र स्थानीय तहको निर्वाचन मितिका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्ताघटक दलका कतिपय नेताहरुबाट सार्वजनिक भएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेकपा (एमाले)को नेतृत्वस“ग संविधान संशोधनका विषयमा विषयगत रुपमा कुनै गम्भीर र ठोस छलफल प्रधानमन्त्रीका तर्फबाट नभएको र प्रधानमन्त्री स्वयम्ले एमाले नेतृत्वस“ग समेत सहमति भएको भन्ने झूठ अभिव्यक्तिहरु सार्वजनिक गरिरहनुभएको भन्दै आपत्री जनाईएको छ । पार्टीको बैठकपछि जारी भएको बिज्ञप्तिमा भनिएको छ–‘हाम्रो पार्टी प्रधानमन्त्रीका उपरोक्त भनाइहरुको भ्रममा नपर्न आम जनसमुदायलाई अपिल गर्दछौं । साथै, जनआन्दोलनको मर्म र भावनाविरुद्ध संविधानको मर्म र भावनाविपरीत स्थानीय तह र प्रदेशका अधिकारका विरुद्धको कुनै पनि प्रस्ताव साथै नेपालको सामाजिक सद्भाव र भौगोलिक एकतालाई कमजोर पार्ने कुनै पनि प्रस्तावप्रति हाम्रो पार्टीको समर्थन नरहने कुरा पुनः स्मरण गराउन चाहन्छौं ।’
२०७४ वैशाख ३१ गते तोकिएकै मितिमा देशभर एकैपटक सबै स्थानीय तहको निर्वाचन सम्पन्न हुनुपर्दछ भन्ने पार्टीको पूर्ववत् अडानलाई दोर्याएको पनि छ । कैलालीको अत्तरियामा नेपाली कांगे्रसद्वारा आयोजित आमसभालाई सम्बोधन गर्ने क्रममा सो पार्टीका सभापति शेरबहादुर देउवाले पार्टी र नेतृत्वलाई लाञ्छित गर्ने ढंगले दिएको अभिव्यक्तिप्रति बैठकले गम्भीर आपत्ति प्रकट गरेको एमाले प्रचारप्रमुख योगेश भट्टराइद्धारा जारी बिज्ञप्तिमा उल्ल्ेखछ । सत्तामा रहेको जिम्मेवार पार्टीको शीर्ष नेतृत्वबाट सामाजिक संवेदनशीलता, मुलुकको भौगोलिक एकता, अखण्डताजस्ता गम्भीर प्रश्नमा हल्काफुल्का टिप्पणीहरु नगर्न बैठकले सचेत गराएको छ ।



