उत्तरकुमार खत्री, प्रजिअ झापा
झापा जिल्लामा अहिले स्थानीय तहको निर्वाचनको सरगर्मी बढेको छ । सरकारले निर्वाचनका लागि मिति घोषणा गरेपछि जिल्लामा निर्वाचनसँग सम्बन्धित गतिविधिहरू सघन रुपमा अघि बढेका छन् । राजनीतिक दलहरू निर्वाचन केन्द्रीत गतिविधिसहित जनताको घरदैलोमा पुगेका छन् । जनतामा पनि आफूले चाहेको उम्मेद्वारलाई मतदान गर्न आतुर देखिएको छ ।
सरकारको तर्फबाट पनि निर्वाचनलाई शान्तिपूर्ण ढंगबाट कसरी सम्पन्न गर्न सकिन्छ भनेर तयारी गरिरहेका छौं । जिल्ला प्रशासन कार्यालयको ध्यान मूलतः निर्वाचन केन्द्रीत छ । झापामा आठ वटा नगरपालिका र सात वटा गाउँपालिका गरी १५ स्थानीय तह कायम भएका छन् । अहिले निर्वाचनसँग सम्बन्धित तयारी अन्तिम चरणमा पुगेको छ ।
झापामा २ सय ७३ मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लाभरी ६ सय ५५ वटा बुथबाट जनताले मतदान गर्नेछन् ।
जिल्लाभरीका ५ लाख १० हजार मतदाताले स्थानीय तहको निर्वाचनमा मतदान गर्नेछन् । निर्वाचनसँग सम्बन्धित मतदाता शिक्षा अभियान जिल्लाभरी चलाइएको छ । आवश्यक जनशक्तिको व्यवस्थापन गरी यसको काम अघि बढाइएको छ । निर्वाचनका लागि आवश्यक सामग्री पनि जिल्ला आइसकेको छ ।
झण्डै २ दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचन हाम्रा लागि पनि नयाँ अभ्यास हो । त्यसैले यसका लागि विशेष तयारी गरिरहेका छौं ।
निर्वाचनमा हुनसक्ने सम्भावित सुरक्षा स्थितिलाई ध्यानमा राखेर तीन किसिमको सुरक्षा व्यवस्था कायम गरिएको छ । सामान्य, संवेदनशिल र अतिसंवेदनशिल गरी तीन तहको सुरक्षा व्यवस्था अन्तर्गत सुरक्षा रणनीति तयार गरेका छौं ।
सुरक्षा व्यवस्थाका लागि २ हजार १ सय १४ म्यादी प्रहरी भर्ना गरेर तालिम पनि सुरु गरिसकिएको छ ।
निर्वाचनका लागि राजनीतिक दल, नागरीक समाज र जिल्ला प्रशासन कार्यालयको सहमतिमा एकखालको खाका तयार गरिसकिएको छ । स्थानीय क्षेत्र र केन्द्रसँग संयुक्त समन्वय गरेर अघि बढेका छौं । निर्वाचनका लागि आवश्यक तयारी लगभग सकिएको छ ।



