
नेकपा (एमाले)ले स्थानीय तह निर्वाचन नजिक–नजिक आइरहेका बेला चुनावी घोषणपत्रलाई पूर्णता दिन विभिन्न समूदायको सुझाव संकलन गरेको छ । यही क्रममा बुधबार एमाले मुख्यालयमै ‘स्थानीय तह निर्वाचनः मुद्धा पहिचान र बौद्धिक समूदायको भूमिका’ विषयक अन्तरक्रियाको आयोजना गर्यो ।
बौद्धिक समूदायको उपस्थितिमा आयोजित कार्यक्रममा चुनावी घोषणापत्र लेखन समितिका सदस्य प्रदीप ज्ञवालीले आगामी घोषणापत्रमा समावेश गरिने विषयका मुख्य बुँदाहरु उल्लेख गरे । उनले घोषणापत्र स्थानीय तह निर्वाचनका लागि तयार गरेको भए पनि विकास र सम्वृद्धिलाई निर्देशित गर्ने खालको भएको दाबी गरे ।
उनले स्थानीय निर्वाचनमा मात्र होइन आम निर्वाचनमा पनि एमालेले बहुमतसहित पहिलो स्थान हाँसिल गर्ने र आगामी पाँच वर्ष कम्तीमा मुलुकको नेतृत्व गर्ने भएकाले त्यही अनुरुपको चुनावी घोषणापत्र तयार गर्न लागेको जानकारी दिए । ‘नेपाललाई अबको २० वर्षपछि अल्पविकशित मुलुकबाट विकासशील राष्ट्रका रुपमा स्थापित गर्ने एमालेको घोषणापत्र आउँदैछ,’ उनले भने, ‘हामी यो निर्वाचनमा ७ सय ४४ मध्ये बहुमत स्थानमा विजयी हुन्छौँ । त्यसपछि हुने निर्वाचनमा पनि एमालेले बहुमत ल्याउने भएकाले त्यही अनुरुपको घोषणापत्र ल्याउँदैछौँ ।’
उनले राज्यलाई सम्वृद्धि र विकासमा कायापलट ल्याउने योजनासहितको महत्वकांक्षी घोषणापत्र एमालेले ल्याउन लागेको पनि जानकारी दिए । ‘नेपालीहरुले सम्वृद्धिको सपना देख्न छाडेका बेला हामीले घोषणापत्र ल्याउँदैछौँ,’ उनले भने, ‘सके युरोप वा अमेरिका जाऊ नभए खाडीमा उँट चराउन जाऊ भन्ने मान्यतालाई विस्थापित गर्ने घोषणापत्र आउँदैछ ।’
उनले विकासप्रतिको निराशालाई तोड्ने खालको घोषणापत्र ल्याउने पनि दाबी गरे । ‘दश वर्षमा नेपाल शहरै–शहरको देश बन्ने छ,’ घोषाणापत्रबारे ज्ञवालीले भने, ‘२५ वर्षमा ५० हजार मेगावाट विद्यूत उत्पादन गर्न सक्छौँ भन्ने तथ्यसहितको घोषणापत्र आउँदै छ ।’उनले अहिले १० लाख पर्यटक भित्रिने गरेको भन्दै त्यसमा दशौँ गुणाले वृद्धि गर्ने योजना एमालेसँग भएको दावी गरे ।
‘मानव संशाधनको विकास, कनेक्टिभिटी, पूर्वाधार, सामाजिक सुरक्षा र सामाजिक न्यायका सन्दर्भमा पनि हामी कायापलट गर्छौ,’ उनले भने, ‘समाजवाद उन्मुख अर्थतन्त्र हाम्रो लक्ष्य हो त्यसैले उत्पादनका साधनमा जनताको स्वामित्व, सामूदायिक प्रोजेक्ट, विकासमा समावेशीता जस्ता कुरालाई पनि मूख्य प्राथमिकतामा राख्छौँ ।’
उनले एमालेलाई पाँच वर्ष तलदेखि माथिसम्म चलाउन दिए अल्पविकशित राष्ट्रको नाममा लागेको कलंकको टिका हटाउँने पनि दावी गरे । ‘पाँच वर्ष एमालेलाई देश चलाउनु दिनुहोस्, डिस्टिङ्सन ल्याएनौँ भने कहिल्यै भोट माग्दैनौँ,’ उनले भने ।



