स्थानीय तहको निर्वाचन हुन २० दिनमात्रै बाँकी रहँदा पनि झापाका प्रमुख दलहरुले मुख्य पदहरुमा उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् ।
झापामा ८ नगरपालिकासहित १५ वटा स्थानीय तहका लागि जम्मा ७२३ जना उम्मेदवार छनांैट गर्नुपर्ने हुन्छ । यसका लागि मुख्य दलहरु विभिन्न चरणका बैठक र भेलाहरुमा व्यस्त बनेका छन् ।
उम्मेदवार छनौटका विधि र प्रक्रिया निर्धारण गरे पनि मुख्य दलका प्रमुखहरु आफँै विभिन्न पदको आकाँक्षी बनेकाले उम्मेदवारी चयन प्रभावित बनेको ती दलहरुका नेताले बताएका छन् ।
नेकपा एमालेले वडाका उम्मेदवार चयन गर्न जिल्ला कमिटीलाई अधिकार दिएको र त्यसका लागि वैशाख ६ गतेसम्म समय सीमा निर्धारण गरेको भए पनि केही वडाहरु बाहेक अधिकांश ठाउँमा उम्मेदवार चयन गर्न आज साँझसम्म पनि सकेको छैन । नेकपा एमालेले ६ गते भित्र वडाका उम्मेदवार तय गरिसक्नु पर्ने केन्द्रीय सर्कुलर भए पनि आकांक्षीहरु धेरै भएकाले उम्मेदवार तय गर्न ढिलाई भएको एमाल केन्द्रीय कमिटीका वैकल्पिक सदस्य तथा झापा इन्चार्ज रविन कोइरालाले बताएका छन् ।



