
दमक । राप्रपाले झापामा चुनावी अभियानलाइ तिब्र बनाएको छ । आफ्नो पडक रहेका भनिएका नगरपालिका तथा गाँउपालिकाहरुमा नगरप्रुमख र गाँउप्रमुखहरुको समेत घोषणा गरेको छ । पार्टी अध्यक्ष तथा उपप्रधान एवं स्थानीय बिकासमन्त्री कमल थापाको उपस्थितिमा दमक, बिर्तामोड र भद्रपुर नगरपालिकाको मेयरको घोषणा गरेपछि चुनावको माहोल तताउदै गएको छ । हल्दिवारी र गौरीगञ्ज गाँउपालिकाको प्रमुखको पनि घोषणा भएको छ ।
दमक नगरपालिकामा राप्रपाका सहमहामन्त्री राम थापा, बिर्तामोडमा राप्रपाका केन्द्रिय सदस्य भक्ति सिटौला र भद्रपुरमा स्थानीय उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका नवराज पनेरु मेयरको उम्मेदवारको रुपमा मत माग्दैछन् । यसैगरि हल्दिवारी गाबिस प्रमुखमा गाँउपालिकामा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनका भाइ रबिन्द्र लिङ्देन र गौरीगन्ज गाँउपालिकाको प्रमुखमा बाबुराजा श्रेष्ठपनि मत मागिरहेकाछन् ।
यि क्षेत्रहरुलाइ राप्रपाले आफूहरुले जित्ने नगरपालिका र गाँउपालिकाको रुपमा लिइएको राप्रपाका एक जिल्ला नेताले बताए । झापामा ८ वटा नगरपालिका र १५ वटा गाँउपालिका रहेकाछन् । ठूला राजनीतिक दलहरुले उम्मेदवार चयन गर्न नसकिरहेका बेला राप्रपाले आफ्ना पकड रहेका भनिएका क्षेत्रहरुमा उम्मेदवार छनौट सहित प्रचार अभियानलाई तिब्र बनाउदै गएको हो । राप्रपाका केन्द्रिय सदस्य प्रविण चाम्लिङका अनुसार राप्रपा सबै नगरपालिका र गाँउपालिका जित्ने उदेश्यले लागेको छ ।
उम्मेद्वार घोषणापछि राप्रपा अध्यक्ष एवं उपप्रधान तथा स्थानीय बिकास मन्त्री थापाले राप्रपाले जितेका नगरपालिका र गाँउपालिकामा लोभलालच देखाएर धर्म परिवर्तनलाइ गर्ने कार्य तथा गौ हत्यालाइ पूर्ण रुपमा बन्देज लगाउने बताउदै आफ्ना उम्मेदवारलाइ जिताउन आग्रह गरेका थिए । उनले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सम्मानका लागि आफूहरुले जितेका सबै नगरपालिका र गाँउपालिका सहित मातहतका सबै कार्यालयहरुमा अनिवार्य रुपमा पृथ्वीनारायण शाहका तस्विरहरु राखिने प्रतिबद्धता पनि जनाए ।



