सिरहा/ भगवानपुर गाउँपालिका–४ विश्वासपट्टीस्थित अधारभूत विद्यालयको अभिलेखअनुसार कक्षा १ देखि ८ सम्म तीन सय ८० विद्यार्थी छन् । तर अभिलेखअनुसार विद्यार्थी कक्षामा देखिएनन् ।

विद्यालय पुग्दा रोशनकुमार कामैत, मुक्तिकुमारी पासवान, रोहितकुमार कामैत र आरतीकुमारी कामैत मात्र थिए। बाँकी कक्षाकोठा बन्द थिए । उनीहरू कक्षा १ का थिए। अभिलेखमा भएका अरू विद्यार्थी विद्यालयमा देखिएनन् ।

भेटियो त केवल विद्यार्थीको अभिलेख भरिएको रजिस्टर र विद्यालयको चौरमा गफ हाँकिरहेका शिक्षक । रजिस्टरमा नाम भएका विद्यार्थी पढ्न आउँदैनन्। पढ्न नआए पनि उनीहरुको नाम रजिस्टरमा कायमै छ । परीक्षा हुँदा र माथिबाट कोही अनुगमनका लागि आउने जानकारी पाउँदा मात्र विद्यार्थीलाई उपस्थित गराउने गरिएको एक शिक्षकले बताए ।

विद्यालयमा पढाइ नियमित नहुँदा यस्तो अवस्था आएको हो । गाउँकै विद्यालयमा पढाइ नहुँदा सीमावर्ती विश्वासपट्टीका बालबालिकालाई सीमावर्ती भारतीय विद्यालयमा पढ्न जानुपर्ने बाध्यता छ ।

बिहार मधुवनीको लौकाहा बजारस्थित राजकीय कन्या माध्यमिक विद्यालयमा पढ्ने विश्वासपट्टीकी छात्रा कविताकुमारी पण्डित भन्छिन्, ‘गाउँको विद्यालयमा कहिल्यै पढाइ हुन्न । नजिक छाडेर टाढाको विद्यालय जानु रहर होइन, बाध्यता हो ।’

कवितासँगै सीमावर्ती भारतीय बजार लौकाहाको कन्याम माविमा पढ्न गएका उनका साथी पनि यस्तै दुखेसो पोख्छन् । विश्वासपट्टीस्थित आधारभूत विद्यालय अगाडि घर भएका राजलाल मण्डलका अनुसार यहाँ शिक्षकहरुको मनपरी छ । ‘शिक्षकलाई गफ गर्न मन लागेको बेला विद्यालय खुल्छ, नलागेका बेला बन्द रहन्छ ।

यो विद्यालय पढाइका लागि नभई शिक्षकहरूको मनोरञ्जनका लागि हो,’ उनले भने । विद्यालय छेउमै घर भएका अर्का रामदेव मण्डल भन्छन्, ‘आँगनमै विद्यालय छ । नेपाल सरकारले शिक्षा क्षेत्रमा ठूलो धनराशि खन्याइरहेको पनि छ तर के गर्नु ? विद्यालयमा कहिल्यै पढाइ हुँदैन ।’ नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय