काठमाडौं/ सत्तारुढ नेकपा स्थायी समिति बैठकमा शनिबार नेताहरू पातलिए । धेरैको अनुपस्थितिलाई औंल्याउँदै नेताहरूले प्रश्न उठाए, ‘यो के गरेको ? विधि र पद्धति यही हो ? ‘खैलाबैला मच्चियो । अध्यक्ष पुष्पकमल दाहालले कुनै स्रोतबाट सुइँको पाएका आधारमा जवाफ दिए, ‘उहाँहरू राष्ट्रपतिकहाँ जानुभएको हुन सक्छ ।’
सदस्य संख्या कम भएपछि केही बेर बैठक स्थगन गर्नुप¥यो । ‘पार्टी बैठक सुरु भएको एक घण्टासम्म अध्यक्षलाई नै जानकारी नदिई नेताहरू उपस्थित नहुनु गम्भीर विषय हो’, आक्रोशित हुँदै दाहालले भने, ‘राष्ट्रपतिले हाम्रो पार्टी बैठक चलिरहेका बेला नै किन बोलाउने ? फेरि राष्ट्रपतिले बोलाउँदैमा पार्टी अध्यक्षलाई जानकारी नदिई नेताहरू किन जाने ? सबै नेता पार्टी अनुशासनमा रहनुपर्छ ।’
त्यसपछि सुरु भएको बैठकमा राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेताहरूका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आत्मालोचना गरे । ‘राष्ट्रपतिले आर्थिक विकास, समृद्धि, अर्थतन्त्र र समाजवादका विषयमा छलफल गर्न हामीलाई शीतल निवास बोलाउनु भएको थियो ।
यो पूर्व निर्धारित कार्यक्रम थियो’, परराष्ट्रमन्त्री ज्ञवालीले भनेका थिए, ‘उहाँले लन्च खाएर जान आग्रह गरेपछि पार्टी बैठकमा आउन केही ढिलाइ हुन पुग्यो । पार्टी अध्यक्षलाई ढिलो आउने जानकारी गराउन नसकेकामा क्षमायाचना गर्दछु ।’
राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाको आन्तरिक राजनीतिक जीवनमा हस्तक्षेप गरिरहेको आरोप लागिरहेको छ । यी बेला शनिबार बिहान ११ बजे १२ जनाजति प्रभावशाली नेता पार्टी नेतृत्वलाई जानकारी नगराई शीतल निवास पुगेका हुन् ।
तिनमा ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, परराष्ट्रमन्त्री ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, नेताहरू देव गुरुङ, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, अर्थमन्त्री युवराज खतिवडालगायत थिए ।
विकास र सहयोगसम्बन्धी अमेरिकी निकाय मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) संसद्बाट स्वीकार गर्नेरनगर्ने, सीमा विवादको समाधान कसरी खोज्नेदेखि नेकपाको विधान संशोधनका विषयमा पार्टी बैठकमा चर्काचर्की परिरहेका बेला राष्ट्रपतिबाट बोलावट भएको थियो ।
राष्ट्रपतिले नेकपा नेताहरूसँग गरेको लन्च मिटिङका विषयमा जिज्ञासा राख्न राष्ट्रपति कार्यालयका अधिकारीहरूलाई पटक–पटक प्रयास गर्दा पनि सम्पर्क हुन सकेन । मंसिर ४ गते नेकपा अध्यक्षद्वयको कार्यविभाजनअघि अध्यक्षद्वय केपी ओली र दाहाल बालुवाटारबाटै शीतल निवास पुगेका थिए । पार्टीमा त्यसको आलोचना हुँदै आएको छ ।
प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति भण्डारीसँग शनिबार साँझ भेट गरेका छन् । स्रोतका अनुसार उक्त भेट भने ‘नियमित ब्रिफिङ’ थियो । शनिबार दिउँसै राष्ट्रपतिले नव निर्वाचित सांसद विद्या भट्टराईलाई भेटिन् ।
नेकपाले स्थायी समिति बैठक बिहान ११ बजेका लागि बोलाएको थियो । शीतल निवास पुगेका नेताहरू फर्किएपछि मात्र दाहालले स्थायी समिति सदस्यहरूले पाँच दिनमा राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमा उठाएका प्रश्नहरूबारे जवाफ दिएको एक नेताले बताए । दाहालले स्थायी समिति सदस्यका प्रश्नको जवाफ एकरएक गरेर दिएका थिए । उनले नेपालको क्रान्ति मौलिक भएकाले नयाँ विचार विकास गरेर जानुपर्छ भन्ने ठानी पार्टी एकता भएको बताएका थिए ।
‘कम्युनिस्ट आन्दोलन उचाइमा लैजान हामीले दुई पार्टी एकता गरेका हौं । हिजोको कार्यदिशा र कार्यनीति पर्याप्त छैन’, दाहाललाई उद्धृत गर्दै ती नेताले भने, ‘नयाँ ढंगले जानुपर्छ । नयाँ विचारको विकास गर्नुपर्छ र त्यसका निम्ति एकताबद्ध भएर जानुपर्छ भन्ने स्वीकार गरेर हामी यो ठाउँमा आइपुगेका हौं ।’
नेपालको जनवादी क्रान्ति कम्युनिस्टको नेतृत्वमा भए पनि यसमा पुँजीपति पार्टी पनि सहभागी रहेकाले रूस र चीनको जस्तो क्रान्ति नेपालमा सम्पन्न नभएको उनको भनाइ थियो । अन्नपूर्ण पोष्टबाट



