पहिलो चरणमा हुने २ सय ८३ स्थानीय तहको निर्वाचनमा करिब ४४ हजार ५१ ले उम्मेदवारी दर्ता गरेको प्रारम्भिक तथ्यांक निर्वाचन आयोगमा पुगेको छ । बुधबार साँझसम्मको तथ्यांकअनुसार महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिका प्रमुखमा एक हजार आठ सय ५६ उम्मेदवार बनेका छन् ।
नगरपालिकार र गाउँपालिकाका वडाअध्यक्षमा भने १० हजार ९८ ले उम्मेदवारी दिएको प्रारम्भिक तथ्यांक आयेगसँग छ । त्यसैगरी दुई खुल्ला सदस्यका लागि १६ हजार ८३ ले उम्मेदवारी दर्ता गराएका छन् । महिला सदस्यका लागि सात हजार नौ सय ९४ ले र दलित महिला कोटामा ६ हजार ६ सय ४५ ले उम्मेदवारी दिएका छन् ।
स्थानीय तहबाट आएका यी तथ्यांकमा उम्मेदवारको केही संख्या थप हुन सक्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए । उनका अनुसार केही स्थानीय तहबाट अपूरो तथ्यांक आएकाले सबै पदका उम्मेदवारको विवरण तयार हुन सकेको छैन । आयोगमा आएको प्रारम्भिक तथ्यांकको अन्तिम नामावली र संख्या बिहीबार साँझसम्म तयार हुने प्रवक्ता शर्माले बताए ।
नयाँ पत्रिका दैनिक



