
आश्विन १६, २०७३- मकवानपुरका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन् ।
हाडीखोला गाविस—२ मकरी र भीमफेदीको जुरिखेतमा यात्रुबाहक बस आइतबार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।
हाडीखोला गाविसको मकरबाट खचाखच यात्रु बोकेर सदरमुकाम हेटौंडातर्फ आउँदै गरेको यात्रुबस मकरीमा दुर्घटना हुँदा एक महिला सहित तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा ६८ जना यात्रु घाइते भएका छन् ।
३९ जना घाइतेको हेंटौडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ भने २९ जनाको हेंटौडा अस्पतालमा उपचार भइरहेको प्रहरी उपरिक्षक मीरा चौधरीले बताइन् । बस भित्र र हुटमा कोचाकोच यात्रुहरु राखिएको थियो । दशैंको किनमेल गर्न मकरीका बासिन्दाहरु बसमा चढेर हेंटौडातर्फ आइरहेका थिए ।
हेटौंडाबाट २० किलोमिटर पश्चिममा पर्ने मकरीको राम मन्दिरको मोडमा बस पल्टिएर दुर्घटना भएको हो । ना ४ ख ४३०७ नम्बरको बस ब्रेकफेल भएपछि चालकले होसियारी पुर्वक सडकको भित्तातर्फको मोडमा ठोकाएर बस पल्टाएका थिए । ‘बस सडकवाट तल खसेको भए धेरै यात्रुहरुको मृत्यु हुन सक्थ्यो,’ प्रहरी नायब उपरिक्षक बामदेव गौतमले भने, ‘३५ जना अट्ने सिट क्षमता भएको बसमा करिब सय जनाको हाराहारीमा यात्रु बोकेर आएकाले बसमा समस्या आएको हो ।’
चालक श्यामबहादुर मोक्तानका अनुसार बस पल्टेको स्थानभन्दा ५० मिटर अगाडी नै ब्रेकफेल भइसकेको थियो । उनले मोडमा ल्याएर ठोकेर बस सडकबाट तल खस्नबाट बचाएको दाबी गरे । ‘सकेसम्म क्षति नहोस् भनेर होसियारी पूर्वक चलाउँदा पनि यात्रुहरुको मृत्यु भयो,’ उनले भने ।
दुर्घटनामा मकरीकै चार वर्षीय बालक प्रनिश लामिछाने, ३० वर्षीय सुर्यबहादुर लामा र ३० वर्षीय लक्ष्मी दाहाल मैनालीका मृत्यु भएको छ । दुर्घटनास्थलबाट उपचारको निम्ति हेटौडा अस्पताल ल्याउने क्रममा उनीहरुको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये ६ जनाको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ ।
यसैगरी मकवानपुरको चित्लाङबाट—कुलेखानी देउराली हुँदै हेटौडातर्फ आउने क्रममा बा ३ ख ५०४ नम्बरको यात्रु बस मदनभण्डारी मार्गको जुरीखेतमा आइतबार दिउँसो दुर्घटना हुँदा चित्लाङ गाविस–६ का ३३ वर्षिया रामशरण बिकको मृत्यु भएको हो । २ जना घाइते भएका छन् । ब्रेकफेल भएको बस भित्तामा ठोकेर सडकमा पल्टदा ३ जना यात्रु घाइते भएका थिए ।
घाइतेहरुको चुरेहिल अस्पतालमा उपचार गर्ने क्रममा विकको मृत्यु भएको हो । घाइतेहरुको उपचार चुरेहिलमा नै भइरहेको छ । उक्त बसमा ३० जना यात्रुहरु रहेका थिए ।



